मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (बिहीबार साँझ) देशभर साधारणतया बादल लागेको छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि छ।
मौसम महाशाखाले अघि साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति देशभर अधिकांश बादल लाग्नेछ।
अनि देशको हिमाली भूभाग तथा कोसी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेशका साथै कोसी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
साथै आज राति कोसी र कर्णाली प्रदेशका पहाडी तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।








