दशकौँयताकै शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
यस विनाशकारी आँधीको असरका कारण पूर्वी एसियाका धेरै देशमा सतर्कता अपनाइएको छ।
झन्डै फ्रान्सजत्रै आकारको आँधी ‘बावी’ प्रशान्त महासागर पार गर्दै ताइवानतिर सर्दै छ।
जसको त्रासले ताइवान सरकारले पहाडी क्षेत्रबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ।
रोयटर्सका अनुसार जापानका अधिकारीहरूले मानिसहरूलाई बाढी र पहिरोबाट सतर्क रहन चेतावनी दिएका छन्।
‘बावी’ शनिबार जापानको दक्षिणी साकिसिमा टापुमा बज्रिएको छ। जसका कारण त्यहाँ भारी वर्षा र तीव्र हुरी चलेको छ। त्यसपछि यो आँधी ताइवानतिर लागेको छ।
यो शनिबार दक्षिणपूर्वी चीनको तटमा जमिनमा ठोक्किने अनुमान गरिएको छ।
यस महिनाको सुरुमा यो शक्तिशाली आँधी उत्तरी प्रशान्त महासागरस्थित अमेरिकाको मारियाना टापु र गुआम हुँदै गएको थियो।







