रूपन्देही । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि गाउँ कार्यपालिकाले कार्यवाहक अध्यक्ष र कार्यवाहक उपाध्यक्ष चयन गरेको छ ।
शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले बहुमतका आधारमा वडा नं. ६ का अध्यक्ष कृष्णचन्द्र यादवलाई कार्यवाहक अध्यक्ष तथा कार्यपालिका सदस्य अनामिकादेवी हरिजनलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
यसअघि गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी असार २२ गतेदेखि निलम्बनमा परेका थिए ।
त्यसैगरी उपाध्यक्ष फातुमा खातुन अन्सारी प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध प्रचार गरेको आरोपमा निर्वाचन आयोगबाट पदमुक्त भएकी थिइन् । उक्त निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा दायर गरेको रिटसमेत खारेज भएपछि उपाध्यक्ष पद रिक्त भएको हो ।
गाउँपालिकाका लेखा प्रमुख सञ्जय शर्माका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधनसहित)को दफा ११६ बमोजिम कार्यपालिकाको बहुमतबाट दुवै पदमा कार्यवाहक तोकिएको हो। १४ सदस्यीय कार्यपालिकामा अध्यक्ष र उपाध्यक्षको पद रिक्त भएपछि हाल सदस्य संख्या १२ रहेको छ ।
तीमध्ये तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सात सदस्य बहुमतमा रहेका छन् । कार्यपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तीन र नेपाली कांग्रेसका दुई सदस्य छन् ।
बैठकको निर्णयमा ‘सर्वसम्मत’ भन्ने शब्द प्रयोग नगरिएको गाउँपालिकाले जनाएको छ। अन्य दलका सदस्यहरूले निर्णय सर्वसम्मत नभई बहुमतबाट भएको उल्लेख गर्न आग्रह गरेपछि निर्णयमा ‘बहुमतबाट निर्णय’ भएको व्यहोरा राखिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधनसहित) को दफा ११६ मा अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख दुवै पद रिक्त वा निलम्बनमा परेमा कार्यपालिकाका सदस्यहरूले आफूमध्येबाट चयन गरेको सदस्यले कार्यवाहक अध्यक्ष तथा कार्यवाहक उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।
सोही कानुनी व्यवस्थाअनुसार पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको हो। यससँगै रोकिएका कार्यपालिका बैठक, नीतिगत निर्णय, विकास निर्माणका योजना तथा सेवा प्रवाहका काम पुनः नियमित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।







