गृहपृष्ठ Featured प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठकाे भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठकाे भेट

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ ।

रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो ।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ ४ दिने भ्रमणका क्रममा अस्ति आइतवार काठमाण्डाै आउनुभएको थियो । ५ सदस्यीय भ्रमण दलमा उहाँकी श्रीमती कोमल सेठ पनि हुनुहुन्छ ।

सेनाध्यक्ष सेठलाई हिजाे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

हिजै प्रधानसेनापति अशोकराज सिग्देल र सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो । त्यस अवसरमा उहाँहरूबीच आपसी हितका विषयका साथै नेपाल र भारतबीचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

साथै सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभएको थियो । सेनाध्यक्ष सेठ आज बिहान पशुपतिनाथ मन्दिरमा पुगी पूजाआजासमेत गर्नुभएको थियो ।

भारतीय स्थल सेनाध्यक्ष सेठ भाेलि स्वदेश फर्कने कार्यतालिका छ ।

सम्बन्धित् समाचार