काठमाण्डाै – गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढीका कारण प्रभावित क्षेत्रबाट अहिलेसम्म ३६ जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट ९ तथा यारुबाट १ शिशु तथा १ विदेशी नागरिकसहित ९ र पायुबाट १२ जनाको उद्धार भएको छ ।
बाढीमा परेर कम्तीमा १० जना सम्पर्कविहीन रहेका प्रारम्भिक विवरण छ । सम्पर्कविहीन हुनेमा पाँच जना चौँरी गोठालासमेत रहेका छन् ।
बाढी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको प्रारम्भिक अनुमान गरेको छ । महाशाखाले बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा ठूलो बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।
उद्धारमा सेनाका ४ वटा हेलिकप्टर परिचालन गरिएकाे छ । बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार भइरहेकाे सेनाले जनाएकाे छ ।









