काठमाण्डौ — त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध गएको बुधबारदेखि अवरुद्ध नागढुंगा–मुग्लिन सडक खुलेको छ । धादिङको बैरेनी र गजुरी क्षेत्रमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकीदेखि सडक खुलेको हो ।
सडक खुलेसँगै राजमार्गमा अलपत्र गाडीलाई गन्तव्यमा पठाइएको छ । तर त्रिशूली नदीमा फेरि बाढी आउने सूचना प्राप्त भएपछि राति गाडी सञ्चालनमा रोक लगाइएको गजुरी प्रहरीले जनाएको छ ।
आजदेखि नियमित रुपमा गाडी सञ्चालन हुन सक्ने प्रहरीको भनाइ छ । यस्तै रसुवा पनि वैकल्पिक सडक मार्गबाट सडक सञ्जालमा जोडिएको छ ।
काठमाण्डौको टोखा– छहरे – गड्खार पुल – आप्र– नर्जा– लच्याङ – सरमथली – पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थानबाट धुन्चे सडकखण्ड सञ्चालन गरिएको हो । त्रिशूलीको बाटो हुँदै रसुवागढी जाने बाटो बाढीले क्षतविक्षत भएपछि वैकल्पिक मार्ग सञ्जालनमा ल्याइएको हो ।







