गृहपृष्ठ Featured राहत कोषमा जम्मा भयो ४ अर्ब ३८ करोड

राहत कोषमा जम्मा भयो ४ अर्ब ३८ करोड

काठमाडौँ — भोटेकोशीमा बुधबार आएको बाढीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढेको छ ।

शुक्रबार पनि विभिन्न व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग तथा सहयोगको प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ साढे ६ बजेसम्म ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २ सय ५२ रुपैयाँ संकलन भएको छ । यो ९ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको रकम हो । थप दुई बैंक हिमालयन र लक्ष्मीमा ६ लाख ८० हजार ६ सय १८ अमेरिकी डलर (करिब १० करोड ३८ लाख रुपैयाँ) जम्मा भएको सचिवालयको भनाइ छ ।

राहत कोषमा सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

कोषमा पद्मज्योति समूहले ५ करोड सहयोग गरेको छ । प्रभावितहरूको सामान्य जीवन पुनःस्थापनाका लागि सामूहिक प्रयास महत्त्वपूर्ण हुने भएकाले कम्पनीले सहयोग गरेको ज्योति समूहले जनाएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड, उद्योगी विजयकुमार शाहले १ करोड, पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले १ करोड, डब्लूएफ नेपालले १ करोड, जावलाखेल डिस्टिलरीले १ करोड, हिमालयन डिस्टिलरीले १ करोड, अल्फा अटोमोटिभ प्रालिले १ करोड र सोलु हाइड्रोपावरका प्रतिनिधिले १ करोड रुपैयाँ कोषमा योगदान गरेको जनाइएको छ ।

व्यक्तिगततर्फ राजी राणाले १ करोड ९ लाख ८० हजार रुपैयाँ सहयोग गरेकी छन् । ८७ वर्षीया राणाले शुक्रबार अर्थमन्त्री वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

राहत कोषमा इन्स्योरेन्स कम्पनीहरूले पनि सहयोग जम्मा गरिरहेका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उक्त रकममध्ये ५१ लाख कम्पनीका तर्फबाट र २१ लाख रुपैयाँ सञ्चालक समिति तथा कर्मचारीबाट संकलन गरिने इन्स्योरेन्सले बताएको छ ।

सम्बन्धित् समाचार