गृहपृष्ठ Featured संयुक्त राष्ट्रसङ्घद्वारा ‘अत्यन्त शक्तिशाली’ एल निनोको चेतावनी

संयुक्त राष्ट्रसङ्घद्वारा ‘अत्यन्त शक्तिशाली’ एल निनोको चेतावनी

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभर ‘एल निनो’ को प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ ।

विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले प्राकृतिक मौसमी घटनासम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ जसले अहिलेको ‘एल निनो’ ७६ वर्षयताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् २०२७ को फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ ।

‘एल निनो’ ले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ, यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्छ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढीको अवस्था सिर्जना गर्छ ।

मानवीय गतिविधिका कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा ‘एल निनो’ थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढाउने मौसमविद्हरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विश्व मौसम विज्ञान सङ्गठनले ‘एल निनो’ सँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्‍याउने प्रयासस्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ ।

सङ्गठनकी महासचिव सेलेस्टे साउलोले ‘एल निनो’ ले विश्वभरका समुदाय र अर्थतन्त्रमा ठूलो धक्का पुर्‍याउने क्षमता राख्ने चेतावनी दिनुभएको छ ।

मौसमविद्का अनुसार अहिलेको ‘एल निनो’ सम्भवतः निकै ठूलो अन्तरले कम्तीमा सन् १९५० यताकै सबैभन्दा शक्तिशाली बन्ने सम्भावना छ ।

‘एल निनो’ समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो । प्रशान्त महासागरको सतहमाथिको तापक्रममा ० दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एल निनो प्रभाव हो ।

सम्बन्धित् समाचार