गृहपृष्ठ Featured भारतकाे नयाँ दिल्लीमा प्रदर्शनअघि २० हजारभन्दा धेरै प्रहरी तैनाथ

भारतकाे नयाँ दिल्लीमा प्रदर्शनअघि २० हजारभन्दा धेरै प्रहरी तैनाथ

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि शनिवार हुने प्रदर्शनअघि राजधानी नयाँ दिल्लीमा २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा ‘जन परिचालन’ कार्यक्रम आयोजना गर्दै जन्तरमन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ । यो समूहले यसअघि जन्तरमन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षामन्त्रीलाई हटाउने अभियानमा सफलता पाएको थियो ।

भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो ।

आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिएको बताएको छ । तर विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् ।

विरोध प्रदर्शनमा प्रमुख विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीसहित अरू नेताहरू सहभागी हुँदै आएका छन् । यसै हप्ता प्रदर्शनका क्रममा गान्धीलाई प्रहरीले केही समय हिरासतमा समेत लिएको थियो ।

प्रदर्शनअघि शहरका प्रमुख सडकमा पहेँलो धातुका अवरोधक राखिएको छ र जन्तरमन्तरमा आवागमन प्रतिबन्धित गरिएको छ । प्रहरीले यो ठाउँमा र्‍याली गर्न अनुमति दिएको छैन ।

सीजेपीले आफ्ना स्वयंसेवक तथा समर्थकलाई प्रदर्शनअघि नै प्रहरीले हिरासतमा लिएको आरोप लगाएको छ । यस विषयमा प्रहरीले प्रतिक्रिया दिएको छैन ।

सीजेपीका कार्यकर्ता सौरभ दासले सामाजिक सञ्जालमा दिल्ली प्रहरी भाजपाको निजी सुरक्षादलजस्तै बनेको आरोप लगाउनुभएको छ ।

सम्बन्धित् समाचार