काठमाण्डाै – आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरअनुसार सस्तोमा टिकट बिक्री/वितरण गर्न सहमत भएका छन् ।
चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो बढेपछि प्रधानमन्त्री वालेन्द्र शाहले यसबारे चासो देखाउनुभएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो ।
छलफलपछि स्वीकृत भाडादरको सस्तो दरमा टिकट बिक्री/वितरण गर्न वायुसेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ ।
विसं २०७२ मङ्सिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो । त्यही आधारमा कम्पनीहरूले यात्रुको चाप बढेका बेला उच्चतम भाडा लिँदै आएका छन् ।







