काठमाण्डौ – अस्ट्रेलिया सरकारले नेपालको बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि थप एक करोड ५० लाख अस्ट्रेलियन डलर अर्थात् एक अर्ब ६१ करोड ७५ लाख रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ ।
अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप’ बैठकमा सहभागी भई आज स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो ।
यसअघि अस्ट्रेलियाले घोषणा गरेको एक करोड १० लाख डलरसहित अब नेपालका लागि कुल सहायता दुई करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको छ । यो भनेको २ अर्ब ८० करोड ३६ लाख रुपैयाँ बराबर हो । अस्ट्रेलिया भ्रमणका क्रममा विदेशमन्त्री पेन्नी वोङसँग भएको द्विपक्षीय वार्तामा बाढीपछिको पुनर्निर्माण, पूर्वसूचना प्रणालीको आधुनिकीकरण र जलवायु सहकार्यबारे छलफल भएको थियो ।
भेटमा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिसा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढाउन आग्रह गर्नुभएको छ । यसैगरि, मन्त्री खनालले फिजी र टुभालुमा आयोजित बैठकमा आउँदो कोप–३१ का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायुवित्त र हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।







