काठमाण्डौ – दैलेखमा एक व्यक्तिले आफ्नो श्रीमतीसहित छोराछोरीमाथि बञ्चरो प्रहार गर्दा श्रीमती र दुई छोराछोरीको ज्यान गएको छ ।
एक बालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार सामान्य घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान दाउरा काट्ने बञ्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिस्मालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुमा रहेको नगर अस्पताल लगिएको थियो ।
घाइते मध्ये तपेन्द्र र करिस्माको अस्पताल पुर्यउँदा नै ज्यान गइसकेको थियो । मनिसालाई थप उपचारका लागि सुर्खेतमा रहेको प्रदेश अस्पताल कालागाउँ लगेकोमा दिउँसो साढे दुई बजे ज्यान गएको हो ।
गम्भीर घाइते मिलनको उपचार भइरहेको छ । घटनामा संलग्न अम्बरलाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिनुभयो ।







