भारतीय प्रहरीले नयाँदिल्लीको क्षेत्र ‘जन्तर मन्तर’को सट्टामा प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ ।
अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने गरी तोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला प्रहरीले पछिल्लो निर्णय गरेको हो ।
भारतको संसद् भवन तथा प्रमुख सङ्घीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेधशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित थियो ।
रणनीतिक स्थानमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य बन्दै आएको थियो ।
जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ ।









