गृहपृष्ठ Featured कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति

कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति

विजयादशमीको अवसरमा कपिलवस्तुमा ५ सय १३  दुर्गा भगवतीको मूर्ति प्रदर्शनका लागि निकालिएको छ।

दुर्गा भगवती माताले दानव शुम्भ र निशुम्भलाई बध् गरेको प्रतीकको स्वरूप जिल्लाका १० वटै पालिकामा मूर्ति प्रदर्शन गरिएको हो।

गाउँ र सहरको चोकमा मूर्ति निकालिएका हो। जिल्लामा विजयादशमीको अवसरमा दुर्गा भगवतीको मूर्ति वर्षौँदेखि प्रदर्शन गर्ने गरिएको सांस्कृतिकविद् पशुपतिमणि त्रिपाठीले बताए।

नौरथाको पहिलो अर्थात् घटस्थापना र सप्तमीका दिन मूर्तिको विशेष पूजापाठ गरी प्रदर्शनका लागि निकालिएको हो। मूर्ति प्रदर्शन गरिएपछि जिल्लाको गाउँदेखि सहरसम्म दशैको चहलपहल समेत बढेको छ।

तौलिहवाको चोक बजारमा बागेश्वरी युवा ग्रुपले एक लाख मूल्यको १३ फिट अग्लो मूर्ति प्रदर्शनमा राखेको छ। ग्रुपका अध्यक्ष अनुप गुप्ताले सो मूर्ति भारतको गोरखपुरबाट खरिद गरी ल्याएको बताए।

विशेष गरी दिउसो भन्दा रातीको समय जिल्लामा मूर्तिको दर्शन र पूजा गर्ने चलन छ। जिल्ला प्रहरी कार्यालय अनुसार कपिलवस्तु नगरपालिकामा सबैभन्दा बढी ९६ वटा मूर्ति निकालिएको छ।

कृष्णनगर नगरपालिकामा ८६, बुद्धभुमी नगरपालिकामा ६८ यशोधरा गाउँपालिकामा ५५, महाराजगं नगरपालिकामा ४४ शिवराज नगरपालिकामा ३८ सुद्धोधन गाउँपालिकामा ३६ मायादेवी गाउँपालिकामा २८ र बाणगंगा नगरपालिकामा २४ वटा मूर्ति प्रर्दशनका लागि निकालिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए। गत वर्ष कपिलवस्तुमा ४ सय ९६ वटा मूर्ति दसैँमा निकालिएको थियो।

दशैको समयमा निकालिएको मूर्ति हेर्न भिडभाड हुने र घटना समेत हुन सक्ने भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ।

कृष्णनगर र महाराजगंजलाई अति संवेदनशील जिल्लाको सुचीमा राखेर त्यही अनुसार सुरक्षा रणनीति समेत बनाइएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताए।

उता कृष्णनगर नगरपालिकामा विगतमा मूर्ति विसर्जनको क्रममा साम्प्रदायिक घटना भएकाले त्यसलाई रोक्न कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहको नेतृत्वमा स्थानीय स्तरमा समेत समिति निर्माण गरिएको छ।

चाडबाडमा हुन सक्ने घटनालाई रोक्न एकीकृत सुरक्षा योजना अनुसार जिल्लाभर व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको भट्टले बताए।

६४ वटा क्विक रेस्पोन्स टिम, २ सय ७७ सिसि टिभीले निगरानी, तालिम प्राप्त कुकुर परिचालन गरिएको उनले बताए। नेपाल र सशस्त्र प्रहरी गरी जिल्लामा १ हजार ९२० बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

चाडबाड भरी नागरिकको सुरक्षा र विभिन्न खाले घटनालाई रोक्न जिल्लामा विशेष सुरक्षा योजना सञ्चालन गरिएको प्रजिअ तोय नारायण सुबेदीले बताए। निकालिएको मूर्ति कार्तिक ३ देखि ९ गते सम्म विसर्जन गरिनेछ।

सम्बन्धित् समाचार