सरकारले बाढीको जोखिम घटाउन ४ हिमतालको पानीको सतह घटाउने र ६ नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने योजना अघि सारेको छ।
आइतबार सार्वजनिक जल तथा मौसम क्षेत्रसम्बन्धी दुईवटा श्वेतपत्रमा हिमतालबाट हुन सक्ने बाढीको जोखिम न्यूनीकरण, मौसम पूर्वानुमानमा सुधार र जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्याउने कार्यक्रम समेटिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले छुट्टाछुट्टै श्वेतपत्र सार्वजनिक गरेका हुन्।
श्वेतपत्रमा उपकरण थप्नेदेखि पूर्वानुमानका लागि आधुनिक प्रविधि प्रयोग गर्नेसम्मका कार्यक्रम छन्। तिनको कार्यान्वयनका लागि बजेटको निरन्तरता, दक्ष जनशक्ति र उपकरणको नियमित मर्मतसम्भार प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको छ।
हिमतालको जोखिम घटाउन अघि सारिएको ‘ग्लोफ सञ्जीवनी’ आयोजना अन्तर्गत मनाङको ठुलागी, संखुवासभाको लोअर बरूण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको पानीको सतह घटाउने योजना छ।
हिमताल फुटेर एक्कासि आउने बाढीलाई ‘ग्लेसियल लेक आउटबर्स्ट फ्लड’ अर्थात् ‘ग्लोफ’ भनिन्छ।
हिमतालको जोखिम घटाउने यो कार्यक्रम श्वेतपत्रसँगै पहिलो पटक घोषणा भएको होइन।
यी चार हिमतालमा पानीको सतह घटाउने कार्यक्रमका लागि हरित जलवायु कोषले सन् २०२५ मै ३ करोड ६१ लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले जनाएको थियो।








