गृहपृष्ठ Featured सरकारले क्रिकेट खेलाडीलाई नगद पुरस्कार नदिएकोमा क्यानको गुनासो

सरकारले क्रिकेट खेलाडीलाई नगद पुरस्कार नदिएकोमा क्यानको गुनासो

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कपमा छनोट भएको नेपाली टोलीलाई कुल २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विजेता टोलीलाई सम्मान स्वरुप उक्त पुरस्कार प्रदान गरिएको जनाए ।

नेपालले मलेसियामा सेप्टेम्बरमा भएको पुरुष एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले मलेसियामा भइरहेको प्रतियोगिताको फाइनलमा यूएईलाई ४४ रनले पराजित गरेको थियो । उपाधिसँगैं नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा भारत, पाकिस्तान लगायतका टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

‘नेपालको पुरुष टोलीले धेरै राम्रो गर्दै आएको छ, हाम्रो टोलीले चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । दोस्रो पटक एसिया कपका लागि छनोट भएको छ, सपना पूरा हुँदै छन्, तीन पटक ट्वान्टी–२० विश्वकप खेलिसकेका छौं, एकदिवसीय विश्वकप पनि खेल्ने सपना साकार पार्न लागेका छौं,’ चन्दले भने, ‘दोस्रो पटक एसिया कपमा खेल्ने मौका बनाएकोमा नेपाली टोलीलाई प्रोत्साहन स्वरुप २० लाख रुपैयाँ क्यानले दिने निर्णय गरेको छ ।’

विगतमा सरकारले यस्तो प्रतियोगिता जितेर आउने टोलीलाई नगद पुरस्कार दिने निर्णय गरे पनि अहिले खेलाडीले त्यो खाले सुविधा नपाएकोमा चन्दले सरकारलाई सो सुविधा उपलब्ध गराइदिन आग्रह गरे ।

सम्बन्धित् समाचार