कपिलवस्तु । कपिलवस्तुका विभिन्न सीमा तथा बजार क्षेत्रमा प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा भित्र्याइएका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न पाँच स्थानबाट मोबाइल फोनका कभर, पटाका, मोटरसाइकल, युरिया मल, काजु, बदाम तथा किराना सामान बरामद गरेको हो।
शिवराज नगरपालिका–५ गडौडाबाट किराना सामान, कृष्णनगर नगरपालिका–८ बहादुरगञ्जबाट सात बोरा भारतीय युरिया मल, २० केजी काजु, नौ केजी बदाम र अन्य किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट पनि विभिन्न प्रकारका पटाका बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बरामद सामग्रीको कुल अनुमानित मूल्य ४ लाख ८८ हजार ८०० रुपैयाँ रहेको छ।
बरामद गरिएका सामग्रीमध्ये आवश्यक प्रक्रिया पूरा गरी केही सामान कृष्णनगर र सुठौली भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। पटाका तथा मोटरसाइकल भने नष्ट नगरिएको विवरणमा उल्लेख छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।







