कपिलवस्तु । जबरजस्ती करणी मुद्दामा १२ वर्ष ६ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तु नगरपालिका–७ कनकठवाका ३९ वर्षीय शत्रुधन धोबीलाई पक्राउ गरिएको हो।
जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका धोबीलाई प्रहरीले गोप्य सूचनाका आधारमा निरन्तर खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि कारागार कार्यालय तौलिहवा पठाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका धोबीले यसअघि ३ वर्ष २५ दिन कैद भुक्तान गरिसकेका छन्। अब उनले थप ९ वर्ष ५ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रहेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ।








