गृहपृष्ठ Featured ‘कृषि एम्बुलेन्स’मार्फत हेलम्बुको ३०० किलो सयपत्री काठमाण्डौको बजारमा

‘कृषि एम्बुलेन्स’मार्फत हेलम्बुको ३०० किलो सयपत्री काठमाण्डौको बजारमा

काठमाण्डौ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानले झण्डै तीन सय किलो सयपत्री फूलसहित विभिन्न मौसमी कृषि उपज  काठमाण्डौका बजारमा ल्याएका छन् ।

गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरणका लागि सञ्चालनमा ल्याएको ‘कृषि एम्बुलेन्स’ मार्फत किसानका उत्पादनहरू सहज रूपमा राजधानीको बजारसम्म पुगेका हुन् । यसअघि उपयुक्त ढुवानी र बजारीकरणको अभावमा हेलम्बुका किसानहरू आफ्ना उत्पादन बारीमै कुहाउन वा न्यून मूल्यमा बेच्न बाध्य थिए ।

गाउँपालिकाका सिनियर कृषि प्राविधिक उद्धव कार्कीका अनुसार, कृषि एम्बुलेन्सको व्यवस्था भएपछि पहिलो पटक ठूलो परिमाणमा सयपत्री, मखमली फूललगायत एभोकाडो, जुनार र हलुवावेद जस्ता मौसमी फलफूलहरू विक्रीका लागि राजधानी ल्याइएको छ ।

स्थानीय सरकारको यस कामले ढुवानी लागत घटाउनुका साथै बिचौलियाको प्रवृत्तिलाई रोकी किसानलाई उत्पादनको उचित मूल्य दिलाउन ठूलो सहयोग पुगेको छ । यसले हेलम्बुका बासिन्दालाई व्यावसायिक कृषि तर्फ आकर्षित गर्नुका साथै तिहारको बेला कृषकहरूलाई प्रत्यक्ष आर्थिक लाभ दिएको छ ।

सम्बन्धित् समाचार