नेपाली नर्स ममता काफ्ले भट्टको मृत्यु प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा दिएको बयानले दुई वर्षभन्दा लामो समयदेखि अनुसन्धानमा रहेको घटनामा नयाँ मोड ल्याएको छ । श्रीमती बेपत्ता भएको बताउँदै आएका नरेशले अहिले आएर उनको शव आफूले काटेर टुक्राटुक्रा पारेको र फेला नपर्ने गरी लुकाएको स्वीकार गरेका छन् । तर, उनले ममताको हत्या भने आफूले नगरेको दाबी गरेका छन् ।
नरेशको यो बयानले मुद्दालाई नयाँ मोडमा पुर्याएको छ । अब प्रश्न ममताको शव कहाँ छ भन्ने मात्र रहेन, उनको मृत्यु कसरी भयो र त्यसका लागि जिम्मेवार को हो भन्ने बनेको छ । अभियोजन पक्षले नरेशमाथि प्रथम श्रेणीको हत्या गरेको आरोप लगाएको छ भने उनले त्यसलाई अस्वीकार गरेका छन् ।
नरेशको बयानमा आएको परिवर्तन यस मुद्दाको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । ममता सन् २०२४ जुलाईको अन्तिम सातादेखि सम्पर्कविहीन भएकी थिइन् । अगस्ट ५ मा नरेशले उनी बेपत्ता भएको जानकारी दिएका थिए । त्यसबेला उनले ममता आफन्त भेट्न न्युयोर्क वा टेक्सास गएको हुन सक्ने बताएका थिए । तर, अनुसन्धानमा ती राज्यमा उनका आफन्त रहेको पुष्टि नभएपछि र अन्य प्रमाणले शंका बढाएपछि अनुसन्धानकर्ताको ध्यान नरेशतर्फ केन्द्रित भएको थियो ।
अहिले अदालतमा उनले दिएको बयानअनुसार ममता सन् २०२४ जुलाई २९ को रात वा जुलाई ३० को बिहान अचेत अवस्थामा भेटिएकी थिइन् । उनले ममताले विषादी सेवन गरेको हुन सक्ने ठानेको बताए । आफूले उनलाई बचाउने प्रयास गरेको तर नसकेपछि शव लुकाउने निर्णय गरेको उनको भनाइ छ ।
नरेशका अनुसार उनले प्रहरीको आपत्कालीन नम्बर ९११ मा सम्पर्क गर्न खोजे पनि डरका कारण अघि बढ्न सकेनन् । त्यसपछि शव फोहोर फाल्ने भाँडामा अटाउने गरी सानो बनाउन आरा प्रयोग गरेको र शवका अवशेष झोलामा राखेर फाल्ने प्रयास गरेको उनले अदालतमा बताएका छन् ।
नरेशको प्रतिरक्षा रणनीतिलाई बुझ्न उनको स्वीकारोक्तिको सीमा हेर्नुपर्छ । उनले आफूलाई हत्या अभियोगबाट जोगाउन प्रयास गरेको देखिन्छ ।
अमेरिकी फौजदारी मुद्दामा अभियोजन पक्षले अभियुक्तले अपराध गरेको कुरा शङ्कारहित रूपमा प्रमाणित गर्नुपर्छ । शव लुकाएको प्रमाणित हुनु र हत्या गरेको प्रमाणित हुनु फरक कुरा हुन् । शव लुकाएको स्वीकारोक्तिले नरेशको संलग्नता र घटनापछि उनले गरेका काम स्थापित गर्न सक्छ, तर ममताको मृत्यु उनकै कारण भएको थियो भन्ने निष्कर्षमा पुग्न अभियोजन पक्षले थप प्रमाण प्रस्तुत गर्नुपर्छ ।
नरेशको प्रतिरक्षाले अदालतसमक्ष अर्को सम्भावना प्रस्तुत गरेको छ- ममताको मृत्यु आत्महत्याबाट भएको थियो र त्यसपछि उनले डर तथा त्रासका कारण शव लुकाए । यदि न्यायाधीश र निर्णायक मण्डलले अभियोजन पक्षले हत्या प्रमाणित गर्न नसकेको निष्कर्ष निकाले भने हत्या अभियोगमा दोषी ठहर गर्न कठिन हुन सक्छ ।
तर, यस रणनीतिमा ठूलो जोखिम पनि छ । नरेशले शव काटेको र लुकाएको स्वीकार गरिसकेपछि ती काम किन गरे भन्ने प्रश्नको सन्तोषजनक उत्तर दिनुपर्ने दबाब उनीमाथि छ । मृत्यु आत्महत्याबाट भएको उनको दाबीलाई अन्य प्रमाणले समर्थन नगरेमा यही स्वीकारोक्ति अभियोजन पक्षका लागि उपयोगी हुन सक्छ ।
भर्जिनियाका प्रतिरक्षा वकिल फ्र्याङ्क साल्भाटोका अनुसार नरेशका वकिलले हत्या अभियोगमा शङ्का उत्पन्न गराएर कम गम्भीर अभियोगमा मात्र दोषी ठहर हुने सम्भावनालाई लक्ष्य बनाएको हुन सक्छ ।
भर्जिनिया राज्यको कानुनअनुसार, कुनै गैरकानुनी काम लुकाउन वा मृत्यु अथवा मृत्युको कारण पत्ता लाग्न नदिन दुर्भावनापूर्ण उद्देश्यले शव लुकाउने, अन्यत्र लैजाने वा त्यसमा परिवर्तन गर्ने काम ‘क्लास ६ फेलोनी’ अर्थात् गम्भीर फौजदारी अपराध हो ।
भर्जिनियाको कानुनी व्यवस्थाअनुसार, क्लास ६ फेलोनीमा सामान्यतः एकदेखि पाँच वर्षसम्म कैद हुन सक्छ । कानुनले तोकेको अवस्थामा निर्णायक मण्डलले एक वर्षसम्मको जेल सजाय वा जरिवानासहितको वैकल्पिक सजाय पनि निर्धारण गर्न सक्छ । त्यसैले शव लुकाएको अभियोगमा दोषी ठहर भएमा नरेशलाई सजाय हुन सक्छ, हत्या प्रमाणित नभए पनि ।
शव काटेर टुक्राटुक्रा पार्ने कार्यलाई पनि अभियोजन पक्षले शवको अपमान वा विकृतिसम्बन्धी छुट्टै अभियोगका रूपमा अघि सारेको छ । नरेशमाथि शव लुकाउने र शव विकृत बनाउने अभियोगसमेत लगाइएको छ । यी अभियोगको सजाय एउटै हो भनेर मान्न मिल्दैन । प्रत्येक अभियोगको कानुनी व्यवस्था र त्यसमा दोषी ठहर भएको अवस्था छुट्टाछुट्टै हेर्नुपर्छ ।
नरेशमाथि लगाइएको सबैभन्दा गम्भीर अभियोग प्रथम श्रेणीको हत्या हो । भर्जिनियाको कानुनमा सामान्यतः जानाजानी, योजनाबद्ध र पूर्वनिर्धारित रूपमा गरिएको हत्या वा कानुनले तोकेका अन्य गम्भीर परिस्थितिमा भएको हत्या यो श्रेणीमा पर्छन् ।
कानुनअनुसार प्रथम श्रेणीको हत्या (क्लास २ फेलोनी) मा सामान्यतः २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ । यो शव लुकाएको अभियोगको तुलनामा निकै कठोर सजाय हो ।
दोस्रो श्रेणीको हत्या प्रमाणित भएमा भने पाँचदेखि ४० वर्षसम्म कैद हुन सक्छ । यो प्रथम श्रेणीको हत्याभन्दा फरक कानुनी श्रेणी हो । नरेशको मुद्दामा निर्णायक मण्डलले प्रथम श्रेणीको हत्या प्रमाणित नभए पनि दोस्रो श्रेणीको हत्या ठहर गर्न सक्ने व्यवस्था अदालतको निर्देशनमा समेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
ममता काफ्ले भट्टको शव अहिलेसम्म फेला परेको छैन । यसले अभियोजन पक्षका लागि अनुसन्धान र प्रमाण प्रस्तुत गर्ने काम कठिन बनाएको छ । तर, शव नभेटिँदैमा हत्या प्रमाणित गर्न नसकिने भन्ने होइन ।
अभियोजन पक्षले घटनास्थलमा भेटिएका रगतका दाग, डीएनए परीक्षण, डिजिटल गतिविधि, निगरानी क्यामेराका दृश्य, खरिद गरिएका सामग्री र अन्य परिस्थितिजन्य प्रमाणका आधारमा घटनाको क्रम स्थापित गर्न सक्छ । यस मुद्दामा अनुसन्धानकर्ताले घरभित्र ममताको रगतसँग मेल खाने प्रमाण भेटिएको र शव व्यवस्थापनसँग सम्बन्धित गतिविधि देखिएको बताएका छन् ।
नरेशले अदालतमा दिएको पछिल्लो बयानले ममता जीवितै कतै गएको भन्ने पुरानो सम्भावनालाई भने लगभग समाप्त पारेको छ । अब निर्णायक मण्डलले नरेशको बयानलाई अन्य प्रमाणसँग तुलना गरेर मूल्याङ्कन गर्नुपर्नेछ । उनले ममताको हत्या गरेको अभियोजन पक्षले प्रमाणित गर्न सकेमा गम्भीर सजायको सम्भावना रहन्छ । हत्या प्रमाणित गर्न नसके पनि शव लुकाएको तथा शव विकृत बनाएको अभियोगमा भने उनी दोषी ठहर हुन सक्छन् । नरेश भट्टको बयान अझै पनि जारी छ ।







