गृहपृष्ठ खबर हराएको बाख्रा खोज्दै जंगल पुग्दा हात्तीले लियो वृद्धको ज्यान

हराएको बाख्रा खोज्दै जंगल पुग्दा हात्तीले लियो वृद्धको ज्यान

साँझपख हराएको बाख्रा खोज्न निस्किएका सप्तरीको सुरुङ्गा नगरपालिका–४ विराटनगरका ७२ वर्षीय गोपी चौधरी घर फर्किएनन्।

बाख्रा खोज्दै गाउँलेहरूसँगै जंगल छेउ पुगेका उनी जंगली हात्तीले आक्रमणमा मारिएका हुन्।

सप्तरी प्रहरी प्रमुख एसपी रुपक खडकाका अनुसार गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको छ।

यो आइतबार साँझको घटना हो। गाउँभन्दा पूर्व–उत्तर दिशामा रहेको जंगल छेउको गोठतिर गोपी अरू ४–५ जना स्थानीयसँगै बाख्रा खोज्न गएका थिए। बाख्रा हराएपछि खोज्दै जाँदा उनीहरू जंगलको नजिक पुगेका थिए।

त्यही बेला हात्ती कराउन थाल्यो।

जंगल छेउमा हात्तीको आवाज सुनिएपछि गोपीले पनि हात्तीकै जस्तो आवाज निकालेर जोडले कराएको स्थानीय दिलीप चौधरीले बताएका छन्। त्यसपछि हात्ती उनीतिरै आयो। लखेट्दै आक्रमण गर्दा गोपी गम्भीर घाइते भए।

एसपी  खड्काका अनुसार घटनाबारे प्रहरीलाई आइतबार राति करिब ८ बजे जानकारी प्राप्त भएको थियो।

‘उहाँ हराएको बाख्रा खोज्न जानुभएको रहेछ । हात्तीले आक्रमण गरेछ,’ एसपी खड्काले भने।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका गोपीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो।   चिकित्सकले उपचारकै क्रममा उनलाई मृत घोषणा गरेका थिए।

बाख्रा खोज्न निस्किएका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएपछि विरनगर र आसपासका बस्तीमा त्रास फैलिएको छ। जंगल आसपासका क्षेत्रमा पछिल्ला दिनमा जंगली हात्तीको ओहोरदोहोर बढ्दै गएको स्थानीय बताउँछन्।

घरपालुवा जनावर हराउँदा खोज्न जंगल छेउ पुग्नुपर्ने बाध्यता र त्यहाँ हुन सक्ने जंगली जनावरको जोखिमले स्थानीयको चिन्ता बढाएको  दिलिप चौधरीको भनाइ छ।

सम्बन्धित् समाचार