गृहपृष्ठ Featured बंगलादेशमा फेरि भड्कियो हिंसा, मोहम्मद युनुसको घरमा आगजनी

बंगलादेशमा फेरि भड्कियो हिंसा, मोहम्मद युनुसको घरमा आगजनी

बंगलादेशमा फेरि हिंसा भड्किएको छ।

भारतमा शरण लिएर बसिरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित दल अवाली लिगले आह्वान गरेको विरोध प्रदर्शनका क्रममा बंगलादेशको राजधानी ढाकामा धेरैवटा बम विस्फोट भएका छन्।

अनि देशका धेरै भागमा आगजनी, तोडफोड र आक्रमणका घटना भएका छन्।

यसै क्रममा प्रदर्शनकारीहरूले चटगाउँमा रहेको अघिल्लो अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको पुर्ख्यौली घरमाआगजनी गरेका छन्। देशका विभिन्न भागमा रहेका उनको ग्रामीण बैंकका धेरैवटा शाखामा पनि आगो लगाइएको छ।

यसैबिच सत्तारूढ दल बीएनपीले अवामी लिगको आगजनी र विनाशको राजनीति फेरि एकपटक उदांगो भएको टिप्पणी गरेको छ।

आगजनीको भिडिओसहित बीएनपीले सामाजिक सञ्जालमा लेखेको छ, ‘उक्त दलका कार्यकर्ताहरूले मस्जिदका लाउडस्पकिर प्रयोग गरी मानिसहरूलाई जम्मा गरेर तुंगीपाडा प्रहरी चौकीमा आक्रमण गरे र आगो लगाई पूर्ण रूपमा ध्वस्त पारे। उनीहरूले (गोपालगन्ज) जिल्लाभरि बीएनपीका नेता तथा कार्यकर्ताका घरमा पनि आक्रमण र आगजनी गरेका छन्।’

भिडिओ-

उता राजधानी ढाकामा भने शेख हसिनाको पार्टी अवामी लिगका दुई नेताको घरमा पनि आक्रमण गरिएको छ।

आक्रमण बंगलादेशका वर्तमान प्रधानमन्त्री तारिक रहमानको पार्टी बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकर्ताले गरेको आशंका गरिएको छ।

२०२४ अगस्टमा विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री पद त्याग्दै हसिना हेलिकप्टर चढेर भारत भागेकी थिइन्। २०२४ अगस्ट ५ देखि उनी भारतमै लुकेर बसेकी छन्।

उनले आगामी डिसेम्बरमा स्वदेश फर्किने योजना रहेको बताइरहेका बेला बंगलादेशमा उनको पार्टी अवामी लिगले प्रदर्शन चर्काएको हो।

हसिनाले बंगलादेश छाडेपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। उक्त सरकारले गत फेब्रुअरीमा गराएको निर्वाचनबाट अहिले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का अध्यक्ष तारिक  रहमान प्रधानमन्त्री छन्।

विद्यार्थी आन्दोलनमा गरिएको घातक हिंसामा दोषी ठहर गर्दै हसिनालाई ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको सजाय सुनाएको छ।

संयुक्त राष्ट्र संघका अनुसार बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा तत्कालीन हसिना सरकारले दमन गर्दा १,४०० जनाको मृत्यु भएको थियो।

यद्यपि हसिनाले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेकी छन्। उनले अदालतको फैसलालाई पनि राजनीतिक बदला भनेकी छन्।

यसैबिच हालै भारतले शेख हसिना फिर्ताका लागि दुई सर्त राखेको छ।

बीबीसी बंगलाको रिपोर्टअनुसार भारतको पहिलो सर्त हो- हसिनालाई फिर्ता लान बंगलादेश सरकारले नै सैन्य विमान नयाँ दिल्ली पठाओस्। जसरी विद्यार्थी आन्दोलन चर्किएपछि २०२४ अगस्ट ५ मा हसिना बंगलादेशबाट हेलिकप्टर चढेर भारत आएकी थिइन्।

यस्तै दोस्रो सर्त हो- बंगलादेश सरकारले हसिनालाई मृत्युदण्ड फैसलाविरुद्ध पुनरावेदन गर्ने ग्यारेन्टी गरोस्।

उता बंगलादेशले भने भारतले आफूलाई औपचारिक रूपमा अहिलेसम्म कुनै सर्त नराखेको बताएको छ।

यस विषयमा पत्रकारहरूले जिज्ञासा राख्दा बंगलादेशकी विदेश राज्यमन्त्री शमा ओबेदले भनिन्, ‘हामीलाई कुनै पनि आधिकारिक स्रोतबाट त्यस्तो कुनै जानकारी प्राप्त भएको छैन। भारतीय विदेश मन्त्रालय वा सरकारले आधिकारिक रूपमा केही भने मात्र हामी जवाफ दिनेछौँ।”

प्रेस सम्मेलनमा उनले अगाडि भनिन्, ‘भारत र बंगलादेशबिचको सम्बन्ध शेख हसिनाभन्दा धेरै ठुलो छ। हामीसँग केही समस्या छन्, जुन हामी कूटनीतिमार्फत समाधान गर्नेछौँ। उनी (हसिना) भारतबाट बंगलादेशको वातावरण अस्थिर बनाउन खोजिरहेकी छन्।’

शेख हसिनाको राहदानीबारे शमा ओबेदले भनिन्, ‘जहाँसम्म मलाई थाहा छ, बंगलादेशी नागरिक हुनेबित्तिकै राहदानी पाउने ग्यारेन्टी हुँदैन। यदि तपाईंलाई दोषी ठहर्‍याइएको छ भने जुलाई २०२४ मा भएको घटना मानवताविरुद्धको अपराध हो। यस मुद्दामा फैसला सुनाइएको छ र उनलाई दोषी ठहर्‍याइएको छ। उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ। कानुन मन्त्रालयले यस्तो अवस्थामा उनी कसरी आउन सक्छिन् भनेर विचार गरिरहेको छ।’

सम्बन्धित् समाचार