गृहपृष्ठ Featured अमेरिकामा आँधी र भारी वर्षापछि १० लाख घरमा विद्युत् अवरुद्ध, सयौँ उडान रद्द

अमेरिकामा आँधी र भारी वर्षापछि १० लाख घरमा विद्युत् अवरुद्ध, सयौँ उडान रद्द

काठमाडौं । अमेरिकाको मध्यपश्चिमी र उत्तरपूर्वी क्षेत्रमा थ्यांक्सगिभिङ पर्वका बेला आएको भीषण आँधी, भारी वर्षा र तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण करिब १० लाख घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । सयौँ उडान रद्द गरिएका छन् ।

 

यस साता अमेरिकामा आठ करोडभन्दा बढी मानिसले यात्रा गर्ने अनुमान गरिएको थियो । स्थानीय समयानुसार बिहीबार अमेरिकाभित्रका ४०० भन्दा बढी उडान रद्द गरिएका फ्लाइटअवेयरले जनाएको छ ।

यस्तै, अमेरिका आउने–जाने तथा आन्तरिक रूपमा सञ्चालन हुने दुई हजार २०० भन्दा बढी उडानमा ढिलाइ भएको थियो ।

थ्यांक्सगिभिङ अमेरिकाको परम्परागत पर्व हो । यस अवसरमा मानिसले राम्रो बाली, परिवार र जीवनका सुखद अवसरप्रति कृतज्ञता व्यक्त गर्छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले वर्षा र तीव्र हावाहुरीको पूर्वानुमान गर्दै साताभरि नै उडानमा ढिलाइ हुन सक्ने चेतावनी दिएको थियो ।

बिहीबार रातिसम्म करिब १० लाख घरको विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । पेन्सिलभेनिया, मेरिल्यान्ड र भर्जिनिया सबैभन्दा बढी प्रभावित राज्यमा परेका छन् ।

अमेरिकाको प्रमुख सार्वजनिक बिदामध्ये एक थ्यांक्सगिभिङ डेकै दिन पश्चिमी तटीय क्यालिफोर्नियादेखि पूर्वी तटीय वासिङ्टन डीसीसम्मका विभिन्न क्षेत्रमा प्रतिकूल मौसम कायम थियो ।

बाढीका कारण धेरै मानिसले थ्यांक्सगिभिङको पारिवारिक जमघट र भोजको आनन्द लिन पाएनन् । उनीहरू पानीले डुबेका सडक र घरका कारण कठिन परिस्थितिको सामना गर्न बाध्य भएका थिए ।

सम्बन्धित् समाचार