काठमाण्डौ – प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफूलाई पक्राउ गरेपछि आँखामा कालो पट्टी बाँधेर अज्ञात स्थलमा लगेको र विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा न्यायाधीशविरूद्ध बयान दिन दबाब दिएको आरोप लगाएका छन् ।
प्रहरीले आफैले लेखेर तयार पारेको सामग्री पढ्न लगाएको र त्यसैको अडिओ रेकर्ड गरी काटछाँट गरेर सार्वजनिक गरेको उनको दाबी छ । आफू र आफ्नो परिवारको जीउज्यानमाथि खतरा रहेको भन्दै सापकोटाले राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् ।
सापकोटाका तर्फबाट पत्नी कविता पाण्डेले हिजो आयोगमा दिएको निवेदनमा प्रहरीले आफूलाई फसाउन मोबाइल फोनमा छेडखानी गरी झूटा प्रमाण सिर्जना गरेको उल्लेख छ । आफूलाई किन पक्राउ गरिएको हो भनेर बारम्बार सोध्दा पनि प्रहरीले कारण नबताएको र घरपरिवारलाई जानकारी गराइदिन गरेको अनुरोधसमेत नसुनेको उनले बताएका छन् ।
प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशविरूद्ध प्रमाण र बयान दिन दबाब दिएको उनको आरोप छ ।
ती व्यक्तिविरूद्ध प्रमाण र बयान दिए आफूलाई छाडिदिने, नत्र आफू मात्र नभई परिवारलाई समेत नराम्रो हुने धम्की दिएको उनको भनाइ छ । आफूले नमानेपछि लामो समय जेल बस्नुपर्ने गरी झूटा मुद्दा लगाउने, आफ्नो र परिवारको जीउज्यान खतरामा पार्ने तथा सम्पूर्ण परिवारलाई समस्यामा पार्ने धम्की दिएको उनको आरोप छ ।
सोधपुछ क्रममा प्रहरीले तयार पारेको सामग्री आफूलाई पढ्न लगाएको सापकोटाले आरोप लगाएका छन् । नेपाली कांग्रेसको आधिकारिकता विवाद र सर्वोच्च अदालतका न्यायाधीशहरूसँगको सेटिङसम्बन्धी विषयमा सार्वजनिक भएका अडिओ आफूलाई प्रहरीले पढ्न लगाएकै सामग्री भएको सापकोटाको दाबी छ ।
ती अडिओ सार्वजनिक भएको कुरा शुरूमा आफन्तबाट र पछि थप बयान लिने क्रममा प्रहरीले सुनाउँदा थाहा पाएको उनले उल्लेख गरेका छन् । आफूले भन्दै नभनेका र जान्दै नजानेका विषयमा पक्राउ परेका दिन प्रहरीले पढ्न लगाएका कुरा काटछाँट गरी सार्वजनिक गरिएको उनको आरोप छ ।
सापकोटाले आफूबाट खोसिएको मोबाइल फोन प्रहरीले दुई दिनसम्म अन्य अनधिकृत व्यक्तिलाई दिएको आरोप पनि लगाएका छन् । आफू प्रहरीकै नियन्त्रणमा रहेका बेला ती व्यक्तिले मोबाइलमा छेडखानी गरी हुँदै नभएका विभिन्न प्रमाण सिर्जना गरेको उनको दाबी छ ।
आफूलाई फसाउन विभिन्न प्रपञ्च तथा षड्यन्त्र भइरहेको भन्दै उनले यस विषयमा अनुसन्धान गर्न मानवअधिकार आयोगसँग माग गरेका छन् । सापकोटाले प्रहरीले आफूलाई पक्राउ गरेको ठाउँ, समय र कारणबारे समेत गलत विवरण प्रस्तुत गरेको आरोप लगाएका छन् ।
सापकोटाले अनुसन्धान क्रममा चुहाइएका सामग्रीका आधारमा आफ्नो मिडिया ट्रायल गरिएको भन्दै आफूमाथि लागेका आरोप प्रमाणित नहुँदै देशकै सबैभन्दा ठूलो बिचौलिया र फिक्सरजस्ता उपनाम दिएर दोषीसरह प्रस्तुत गरिएको गुनासो गरेका छन् ।












