गृहपृष्ठ Featured प्रतिनिधिसभाकाे सभामुखमा अग्नि प्रसाद सापकाेटा निर्वाचित

प्रतिनिधिसभाकाे सभामुखमा अग्नि प्रसाद सापकाेटा निर्वाचित

काठमाडौँ / प्रतिनिधिसभाकाे सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित हुनुभएकाे छ । आइतबार बसेकाे प्रतिनिसभाकाे बैठकले सापकाेटालाइ निर्विरोध निर्वाचित गरेकाे हाे । प्रतिनिधिसभाको रिक्त सभामुख पद लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएकाे छ ।

सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण हुनुहुन्थ्याे ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले महिलामाथिको यौन दुव्र्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिनुभएको थियो । हाल उहाँ पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुखमा रिक्तता र त्यसमा राजनीतिक सहमतिमा भएको ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।

 

सम्बन्धित् समाचार