गृहपृष्ठ कला/साहित्य जुङ्गा फुल्दैमा कोही ज्ञानी हुँदैन

जुङ्गा फुल्दैमा कोही ज्ञानी हुँदैन

मेरो आयु आज २१ वर्षको भईसक्दासम्म न त यो दीर्घको हिसाबले ठूलो छ, न त गुणको हिसाबले। घरमा सबैले कान्छो- कान्छो भनेर होला आफू अझै पनि केटाकेटी भएको अनुभव हुन्छ तर जब स्वामी विवेकानन्द जीवन कथा पढ्छु तब मलाई लाग्छ कि मेरो जीवन त दीर्घको हिसाबले त धेरै नै ठूलो भईसकेको रहेछ।

जीवनको लम्बाई विशाल भए पनि यसको गहिराई भने अझै पनि सानो नै रहेको रहेछ किनभने जब विवेकानन्द म जति उमेरका थिए उनले त १२ वर्षसम्म समस्त भारत वर्षको भ्रमण गरिसकेर आफ्नो देशमा गरिबीको अवस्था र त्यसबाट निवारणको उपायसम्म पनि अन्वेषण गरिसकेका रहेछन्।
मैले कुनै पनि रूपले आफ्नो तुलना उनीसँग गर्न खोजेको होईन तर ती व्यक्ति जो ३९ वर्ष मात्रै जीवित रहेर पनि जगत् श्रेष्ठ व्यक्ति बन्नमा सफल रहे उनीबाट सबैले नै प्रेरणा लिन सकिन्छ।

उनी गरिब पनि थिए अनि उमेर पनि सानो नै थियो तर पनि उनलाई आफ्नो मार्गमा हिड्नबाट कसैले रोक्न सकेन। ‘जुङ्गा फुल्दैमा कोही ज्ञानी र अनि धनी हुँदैमा कुलीन हुन सक्दैन’ भन्ने मैले उनीबाट लिएको सबैभन्दा ठूलो शिक्षा हो।

मेरो जीवन पनि केवल आफ्नो लागि नभएर अरूको लागि होस्, ईच्छा त यही नै छ तर यो कति मात्रामा सम्भव हुनेछ भन्ने कुरा त आफ्नो बाहुफलमा नै निर्भर हुनेछ।
आफ्नो जन्मदिवशमा उत्सव त सबैले मनाउँछन्, मैले पनि आज त्यहि नै गर्दै छु तर सफल त ती व्यक्तिहरू हुन्, जन्मदिन उनीहरूको हुन्छ तर उत्सव सारा विश्वले मनाउँछ।

सारा प्रकृतिले पनि हामीहरूलाई सिकाएको शिक्षा यहि हो:
परोपकाराय फलन्तु वृक्षा: परोपकाराय बहन्तु नद्द:
परोपकाराय दुहन्ति गावा: पोपकारार्थ मिदं शरिरं

जस्तै एउटा वृक्षले आफूले उत्पादन गरेको फल आफूले कहिल्यै खाँदैन, एउटा नदी परोपकारकै निम्ति बगिरहन्छ अनि परोपकारकै निम्ति गाईले हामीलाई दुध दिन्छ।
त्यस्तै मानवको शरीर पनि परोपकारकै निम्ती हो। कुनै पनि व्यक्तिले जीवनमा कति सफलता प्राप्त गर्छ भन्ने भन्दा पनि उसले प्राप्त गरेको सफलताबाट अरूलाई कति लाभ हुन्छ भन्ने महत्वपूर्ण हो।

कुनै पनि व्यक्ति संसारमा स्वार्थ रहित हुन सक्दैन, किनभने हामीले आफ्नो स्वार्थ त्याग गर्नासाथ हाम्रो कर्मको गीत पनि रोकिन्छ।
तर आफ्नो स्वार्थको घेरालाई विशाल बनाउन भने अवश्य सकिन्छ। जस्तै स्वार्थी त भगवान गौतम बुद्ध पनि हुनुहुन्थ्यो तर सकल मानव जातिको स्वार्थ भनेकै बुद्धको स्वार्थ थियो।

आउने दिनमा को व्यक्ति कुन स्थानमा रहनेछ भन्ने कुराको उत्तर त समयकै गर्वमा लुकेको छ तर आउने दिनहरूमा आफ्ना भुलहरूलाई सुधार गरेर अगाडि बढ्न सकियोस्।

सम्बन्धित् समाचार