गृहपृष्ठ खबर विधान मिचेर बहादुर नसम्झन देउवालाई पौडेलको चेतावनी

विधान मिचेर बहादुर नसम्झन देउवालाई पौडेलको चेतावनी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन्।
सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उनमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गरे। वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफू बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताए।

विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको बताए।
उनले भने, ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं। तर नेपाली कांग्रेस भित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ। त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हौं।’

सभापति देउवालाई विधान मिच्ने बानि परिसकेको पौडेलले बताए। आफु बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी पौडेलले गरे।

उहाँले भने, ‘यो मिच्ने बानीपर्‍यो। हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृह मन्त्रीले तोड्छ म गृहमन्त्री भएको हुनाले मैले हो तोड्ने कानून भनेर बोलेर धाक लगाएर हिंडनुहुन्थ्यो एक ताका। उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे। अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ। मैले हो तोड्ने म त बहादुर नी भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पुर्‍यायो। यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्‍यो, क्षती पुर्‍यायो र घायल बनायो।’

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफूले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताए।

महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको बताए। चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनैपनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताए।

उनले भने, ‘अहिले उहाँलाई धमाधम मान्छे नियुक्त गर्नुछ। मान्छे भर्ना गरेर नाम पत्रिकामा छपाएर चार वर्षसम्म उहाँको कार्यकाल सकिएपछि उहाँ कामचलाउ सभापति भइसकेपछि यो कामचलाउ कार्यसमितिले यो गर्न मिल्छ? यो कुरा हामी भनिरहेका छौं की यसरी धज्जि नउडाऔं। विधानको धज्जि नउडाऔं। लोकतान्त्रिक मूल्य मान्यताको धज्जि नउडाऔं। कांग्रेस लोकतन्त्रको पर्याय जस्तो भएको नेपालमा यसको अस्तित्वलाई नै संकटमा पार्ने कुरा भयो।’

फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखिनै आचारसंहिता सबैलाई लाग्ने बताए।

उनले भने, ‘फागुन ७ गतेका लागि महाधिवेशनको मिति तोकेर हामी अगाडि बढिसकेका छौं। महाधिवेशनमा प्रवेश गरिसकेका छौं। यसलाई क्रियाशीलको अनि वडाको मात्र होइन केन्द्रीय महाधिवेशनको उद्घाटन नभइकन भन्लान फेरि यो त जालि कुरा हो नी। यस्तो गरेर पार्टीको बैधानिक मर्यादामाथि आँच पुर्‍याउन पाइन्छ?’

पार्टीमा विधान मिचेको विषयलाई गम्भीरता पूर्वक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताए। अहिलेको केन्द्रीय समितिमा उनको नै बहुमत भएकाले त्यहाँबाट विकल्प खोज्न नसकिने भएकाले महाधिवेशनमा नै प्रमाण सहित विकल्प खोज्ने बताए।

उनले भने, ‘यो विषयलाई हामी गम्भीरतापूर्वक उठाउँदै जान्छौं। यो विषयलाई महाधिवेशन सम्मै उहाँको मनपरी तन्त्रको, स्वेच्छाचारी तन्त्रको प्रमाण यही हो भनेर हामी भन्छौं। त्यसकारण उहाँको विकल्प खोज्नपर्ने स्थिति जन्माइराखेको छ।’

वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिमा आफू नै हुनुपर्छ भन्ने दावी नगरेको समेत स्पस्ट पारेका छन्। तर पार्टीले आफूलाई न्याय गर्नुपने उनको भनाई छ। पार्टीभित्र सबै नेता तथा कार्यकर्ताले आफ्नो आकांक्षा राख्न पाउने तर उमेरको आधारमा सबैलाई एउटै क्याटोगारीमा राखेर अन्याय गर्न नपाइने बताए। पटकपटक मौका पाएकाले सत्ताको दुरुपयोग गरे नगरेको हेरेर विवेक पुर्‍याएर निर्णय गर्नुपर्ने तर्क पौडेलको छ।

उनले भने, ‘हामी नै हुनुपर्छ मै हुनुपर्छ भनेर मैले कहिलेपनि भनेको छैन। तर एउटा कुरा के हो भने समाजले न्यायचाहिं गर्नुपर्छ। पार्टीका आम साथीहरुले न्याय चाहिं गर्नुपर्छ। पार्टीमा सबैलाई एकनास उमेरको आधारमा एउटै क्याटागोरीमा सबैलाई राख्न पाइँदैन। किनभने कसैले पार्टीमा कुनै अहित नगरेर पार्टीको हितको पक्षमा मात्रै जीवन दिएका छन् होला। कसैले पटक पटक मौका पाउँदा दुरुपयोग गरेका होलान् सत्ताको, त्यसको विवेक त पु¥याउनु पर्छ नी। उमेरको भरमा मात्रै कसैलाई पन्छाउने र राख्ने भन्ने कुरा चाहिं हुँदैन। स्वभाविक प्रक्रियाबाट नेतृत्व आउँछ।’

फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले सरकारले कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताए। कांग्रेसले सुरुदेखि नै सरकारलाई भन्दै आएको र आफूले प्रधानमन्त्रीलाई भेटेर नै लिखित रुपमा दिएको तर सरकारले तयारी नगर्दा अहिले संकट देखापरेको बताए।

सरकारले आईसीयू, भेन्टीलेटर र आइसोलेसन तथा क्वारेन्टिनको व्यवस्था नगरी नागरिकलाई विचल्लीको अवस्थामा पुर्‍याएको पौडेलको भनाई छ। कम्युनिष्ट सरकारले कुनैपनि मानवीय समस्याको समाधान गर्न नसक्ने दावी गर्दै उनले अहिलेको स्थिति कम्युनिष्टहरुको असफलताको नमुना भएको बताए।

सम्बन्धित् समाचार