काठमाण्डौ – म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ३० जनाको ज्यान गएको छ ।
आक्रमणमा बालबालिकासहित नागरिक मारिएका र कतिपय घाइते भएका अल जजिराले जनाएको छ । उत्तरपूर्वी म्यानमारको मोए बाय क्षेत्रमा हिजो एक विवाह समारोहलाई लक्षित गरी हवाई आक्रमण हुँदा २१ जनाको ज्यान गएको हो ।
आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन् । त्यस्तै पश्चिमी राखाइन राज्यको म्राउक–यू सहरको एक बजारमा गरिएको हवाई आक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् ।
यसअघि म्यानमारको निर्वासित राष्ट्रिय एकता सरकार (एनयूजी) ले मध्य म्यानमारको माग्वे क्षेत्रमा विद्यालय र बौद्ध गुम्बालाई केन्द्र बनाएर गरिएको बम तथा ड्रोन आक्रमणमा थप २९ जनाको ज्यान गएको थियो ।
सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि म्यानमारमा गृहयुद्ध चलिरहेको छ । द्वन्द्व अनुगमन गर्ने संस्था एसीएलईडीका अनुसार द्वन्द्वमा अहिलेसम्म सबै पक्षका गरी एक लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।
म्यानमारमा पछिल्ला आक्रमण भइरहेका बेला अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले नोभेम्बर १९ मा रोहिंग्या मुस्लिम समुदायमाथि सन् २०१७ मा भएको सैन्य कारबाहीलाई लिएर नरसंहारसम्बन्धी फैसला सुनाएको थियो ।







