गृहपृष्ठ खबर चितवनमा पाण्डेविरुद्ध ओली समर्थित कार्यकर्ताहरू नाराबाजीमा उत्रिए

चितवनमा पाण्डेविरुद्ध ओली समर्थित कार्यकर्ताहरू नाराबाजीमा उत्रिए

चितवन : नेकपाका नेता सुरेन्द्र पाण्डेविरुद्ध पार्टी एकताबिरोधी भन्दै गृहनगरकै कार्यकर्ताहरूले नाराबाजी गरेका छन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी समिति सदस्य पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने काम मात्र गरेको भन्दै कार्यकर्ताले नाराबाजी गरेका हुन्।

राप्ती नगरपालिकाको विरेन्द्रनगरमा गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेलाई ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै लखेट्ने प्रयास गरेका थिए। उनीहरूले पार्टी एकता जिन्दावाद, पार्टी फुटाल्न पाइँदैन लगायतका नारा लगाएका थिए।

पाण्डेले मदन भण्डारी फाउण्डेशनमार्फत गुटबन्दी भएको बताएपछि ओली समर्थित कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका थिए। नगर कमिटीको आधिकारिक भेलामा अन्य ठाउँका कार्यकर्ताहरू आएर बिथोल्ने प्रयास गरेको आरोप पाण्डे समर्थित कार्यकर्ताहरूले लगाएका छन्।

पाण्डे चितवन जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। कार्यक्रम भएको स्थान उनको निजी निवासबाट नजिकै पर्छ। पार्टीको राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिए पनि यस विषयमा कुरा नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध खनिएको भन्दै कार्यकर्ताले कार्यक्रम नै बिथोलिदिएका थिए।

पूर्वअर्थमन्त्री पाण्डे केही दिनयता चितवनमै कार्यकर्ता भेलामा सक्रिय थिए।

 

सम्बन्धित् समाचार