गृहपृष्ठ खबर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : तीन सांसदद्धारा हस्ताक्षर फिर्ता

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : तीन सांसदद्धारा हस्ताक्षर फिर्ता

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पूर्व राज्यमन्त्री जसमाया गजमेरसहित तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिएका छन्।

अविश्वास प्रस्तावका विषयमा प्रदेशसभा बैठकमा छलफल गर्ने समय नजिकिदै गर्दा सोमबार प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले आफ्नो प्रस्ताव फिर्ता लिएका हुन्। प्रदेशसभा बैठक आगामी माघ ७ मा बस्दैछ।

गत पुष १२ गते प्रदेश सरकारका मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–नेपाल समुहका ३७ सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सो प्रस्तावमा सोमबार फिर्ता लिने तीनैजना सांसदको हस्ताक्षर रहेको थियो।

सोमबार प्रदेशसभा सचिवालयमा सामूहिक निवेदन दिँदै उनीहरुले नेकपाको सरकारविरुद्ध नेकपाकै सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै आफ्नो बोली फेरेका हुन्।

सोमबार अविश्वास प्रस्ताव फिर्ता लिने तीनै जना सांसद झापाबाट निर्वाचित हुन्। यससँगै अविश्वासको प्रस्ताव फिर्ता लिने सांसद्को संख्या पाँच पुगेको छ। यसअघि उदयपुरकी सांसद् कला घले र मोरङकी सांसद् वसन्तीदेवी यादवले अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए।

 

सम्बन्धित् समाचार