गृहपृष्ठ खबर अब एमाले ब्यूताएर छिट्टै केन्द्रीय समितिको बैठक : प्रधानमन्त्री ओली

अब एमाले ब्यूताएर छिट्टै केन्द्रीय समितिको बैठक : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब साबिकको नेकपा एमालेलाई ब्यूताउँने बताएका छन्। आइतबार साँझ संसदीय दलको बैठकले बोल्दै ओलीले सर्वोच्चका दुबै फैसला आफूहरूको विपरित भएको भन्दै उनले साबिकको नेकपा एमाले ब्यूताएर छिट्टै केन्द्रीय समितिको बैठक बोलाइने बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बोल्दै ओलीले सर्वोच्चले पार्टी एकताको भावना र मर्म विपरित फैसला गरेको बताए। ‘सर्वोच्चका दुबै फैसला हाम्रा लागि सुखद रहेनन्। तर पनि अदालतको फैसला स्वीकारेर अगाडि बढ्छौं’, उनले भने।

सर्वोच्च अदालतको फैसला आफूले जहिले पनि स्वीकार गरेको भन्दै उनले पार्टी एकीकरण वदर सम्बन्धमा आज आएको फैसला पनि स्वीकार गर्ने बताएका हुन्।

उनले सरकारमा सामेल कुनै राजनीतिक दलले समर्थन फिर्ता लिएमा पनि बहुमत पुर्‍याउँने बताए। यदि पुगेन भने पनि जिम्मेवार प्रतिपक्षी भएर भूमिका निभाउने बताए। प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीले भने, ‘यदि कसैले सरकारको समर्थन फिर्ता लिएमा म ३० दिनभित्र विश्वासको मत लिन्छु। नभए इमान्दार प्रतिपक्षी भएर बस्नेछु।’

बैठकमा नेकपा बनिसकेपछि राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका उपचुनावमा निर्वाचित भएकाहरु सम्बन्धमा उठेका प्रश्नको जवाफमा यसबारे कुनै कानुनी व्यवस्था गर्नुपर्छ भने पनि गरेर समाधान गर्ने बताए।

सभामुखप्रति आक्रोशित बनेका ओलीले संसदीय दलको बैठकमा सम्बोधन गर्दै सभामुखलाई संसद कसरी चलाउने भन्ने विषयमा आफूले सिकाउने बताए।

हतास मानसिकतामा रहेर सभामुखले कसरी संसद् चलाउन सक्लान् भन्दै उनले भने, ‘अब म सिकाउँछु उहाँलाई संसद् चलाउन तर यस्तो स्थिति नल्याउन उहाँ आफैँले स्वीकार गरेर अघि बढ्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले जानकारी दिए।

सम्बन्धित् समाचार