
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ। बुधबारदेखि ललितपुरको सानेपामा बसेको नेपाल समूहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो। सो समूहले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप पार्टी अध्यक्ष केपी शर्मा ओली अगाडि बढ्न नसकेको आरोप लगाएको छ।
आफूहरुले जबजको कार्यदिशालाई बलियो रुपले कार्यान्वय गर्दै अगाडि बढ्ने निर्णय गरेको नेता योगेश भट्टराईले बताए।
उनले भने ‘२०७१ साल साउनमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले पास गरेको पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म, भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने कार्यदिशालाई यो भेलाले फेरि एक पटक पुष्टि गरेको छ, र हामीले के भनेका छौँ भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले त्यो कार्यदिशालाई सहि ढंगले पक्रिन सक्नुभएको छैन।’
३ वर्षको सरकार सञ्चालनको क्रममा ३ वटा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भए पनि पार्टीको बहुदलीय जनवादको नीतिमा ओलीले सही ढंगले काम गर्न नसकेको आरोप लगाउँदै उनले कार्यदिशालाई बलियो ढंगले समाउने र त्यसको कार्यान्वयनको निम्ति अगाडि बढ्ने निर्णय भएको बताए।
सर्वोच्च अदालतले नेकपा९एमाले० ब्युताएको अवस्थामा माधव समुहले २०७५ साल जेठ २ गते कायम रहेका पार्टीका सम्पूर्ण कमिटीहरुलाई सक्रिय बनाउने निर्णय पनि गरेको छ। नेता भट्टराईले त्यसयता ओलीले बनाएको कुनै पनि पार्टी कमिटीलाई स्वीकार नगर्ने निर्णय गरेको पनि बताए।
भेलाले देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएको छ। जनवर्गीयहरुको राष्ट्रिय भेला आयोजना गर्ने तथा आगामी तीन महिना संगठन परिचालन गरिने पनि नेता भट्टराईले जानकारी दिए।
राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टीको पुर्नगठन अभियान शुरु भएको बताए। ओलीले आफुहरुसँग सल्लाह नगर्ने एकलकाटे शैली लिएर पार्टी विभाजनमा उद्यत रहेको उनको भनाइ छ।








