बुटवल : तीन वटा जन्तीबसलाई टिपरले ठक्कर दिँदा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(बेलहिया सडक खण्डको कोटिहवामा आइतबार दिउँसो भएको दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा-१५ की १० वर्षिया सरस्वती हरीजन र ८ वर्षीया गंगा हरिजनको ज्यान गएको प्रहरीले जनाएको छ।
जन्ती बोकेर भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९६८५ नम्बरको बसलाई भैरहवा तर्फबाटै बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट उछिट्टिएको बसले जन्ती बोकेकै अर्को लु १ ख ५७८८ नम्बरको बसलाई ठक्कर दिएको र उक्त बस अनियन्त्रित भई लु २ च ७०७२ नं बलेरो जीपमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। घाइतेमध्ये टिपर चालकको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र अन्य ५ जनाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ।
टिपरको ठक्करबाट तीन वटा गाडी दुर्घटनामा परेपछि अहिले ट्राफिक प्रहरीले टिपरको आवतजावतलाई रोकेको छ। ट्राफिक प्रहरीका अनुसार बुटवलबाट भैरहवातर्फ जाने टिपर बुटवल र तिलोत्तमाको सीमाक्षेत्र योगीकुटीमा रोकिएका छन्। त्यस्तै भैरहवाबाट बुटवलतर्फ आउने टिपर सिद्धार्थनगर नगरपालिकाको अञ्चलपुरमा रोकिएका छन्।
ट्राफिक प्रहरीले आवतजावतमा रोक लगाएपछि अहिले सडकमा टिपरको लाइन लागेको छ।







