गृहपृष्ठ खबर शपथ ग्रहण बदर गर्न जसपा अध्यक्ष यादवको माग

शपथ ग्रहण बदर गर्न जसपा अध्यक्ष यादवको माग

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले पुनः नियुक्त भएपछि शपथग्रहण गर्ने क्रममा पदीय मर्यादा र गरिमामा गम्भीर आँच आउने काम गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् । यादवले आइतबार प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति र प्रधानमन्त्रीको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको भन्दै पुनः शपथग्रहण गराउन माग गरेका हुन् ।

यादवले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीको शपथग्रहणा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ‘सत्य निष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न–गराउन हाम्रो पार्टी माग गर्दछ ।’

यादवले संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदूतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटकपटक राजदूत नियुक्ति गर्दा समावेशी आधारमा नगरेर सरकारले विभेद गरेको बताएका छन् । राज्यका सबै अंग, तह र निकायमा समानुपातिका समावेशी मान्यता तथा त्यससम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न पनि यादवले माग गरेका छन् । ‘राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेसी, आदिवासी जनजाति, महिला, दलित, थारूलगायतका समुदायहरूको संविधानको व्यवस्थाविपरीत न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेका छन् । अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यससम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

सरकारले कोरोना महामारीमा जिम्मेवारीपूर्वक आपतकालीन व्यवस्थापन गर्न पर्याप्त ध्यान नदिएको, अस्पतालहरूमा बिरामीका लागि बेड, अक्सिजन, आइसियू, भेन्टिलेटर र औषधिको समेत अभावले जनताको अकालमा मृत्यु भएको आरोप यादवको छ । ‘अस्पतालहरूमा कोभिडका बिरामीहरूका लागि बेड, अक्सिजन, आइसियू, भेन्टिलेटर र औषधिको समेत अभावले जनताको अकाल मृत्युवरण भइरहेको छ । स्वास्थ्यकर्मी, डाक्टर अर्थात् आवश्यक जनशक्ति बेड, अक्सिजन, आइसियू, भेन्टिलेटर र औषधिको यथाशीघ्र व्यवस्था गर्नुपर्दछ,’ यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित् समाचार