विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिनका बारेमा थुप्रै अनुसन्धान भइरहेको छ। भ्याक्सिनको प्रभावकारिता र त्यसको ‘साइडइफेक्ट’ लाई लिएर नै वैज्ञानिकहरु अन्यौलमा छन्। भ्याक्सिन लगाएका मध्ये कसैलाई टाउको दुख्ने त कसैलाई ज्वरो आउने। केहीलाई भने भ्याक्सिन लगाएपछि कुनै प्रकारको असर गर्दैन। यसबिच भारतमा एक व्यक्तिले भ्याक्सिन लगाएपछि अनौठो दाबी गरेका छन्।
बीबीसी हिन्दीमा प्रकाशित लेखका अनुसार भारतको नासिकका अरविन्द सोनरले भ्याक्सिन लगाएपछि आफ्नो शरीरले चुम्बकले जसरी काम गरिरहेको दाबी गरेका छन्। उनले चार(पाँच दिन पहिला एक निजी अस्पतालमा कोभिशिल्ड भ्याक्सिनको दोसो डोज लगाएका थिए। भ्याक्सिन लगाएपछि उनलाई स्वास्थ्यमा कुनै असर भने गरेन। तर शरीरमा स्टिलका वस्तु भने टाँसिन थालेको सोनरको दाबी छ। उनले आफ्नो शरीरमा सिक्का र फलामका सामानहरु टाँसेको भिडियो सामाजिक संजालमा समेत पोस्ट गरेका छन्। जुन अहिले भारतभर निकै भाइरस भइरहेको छ।
सोनर भन्छन्, ‘ म छोरीसँग कुरा गरिरहेको थिएँ। उसले मलाई भ्याक्सि लगाएका व्यक्तिहरुमा स्टिलको वस्तुहरु टाँसिने कुरा बतायो। त्यसपछि मैले पनि पनि शरीरमा जाँच गरे र मलाई पनि त्यस्तै भइरहेको थियो’
तर, जानकारहरुले भने सोनरको दाबी सत्य हुनै नसक्ने बताएका छन्।
दुई वर्ष अघि वायपास सर्जरी गराएका र डायबिटिजका बिरामी समेत रहेका सोनरले आफ्नो शरीरमा वस्तु टाँसिन थालेको कुरा बारे चिकित्सकलाई पनि बताएका थिए।
बीबीसी मराठीले सोनरको दाबीलाई लिएर डाक्टर हामिद दाभोलकरलाई प्रश्न गरेको थियो।
दोभोलकरले भने, ‘शरीरमा सिक्क र भाडाहरु टाँसिनु भौतिकीको नियमको आधारमा सम्भव छ। शरीर नरम भए र वस्तु टाँसिने अंगमा भ्याकुम क्याविटी भयो भने त्यो सम्भव हन्छ।’
तर दोभोलकरले भ्याक्सिन लगाएर यसरी शरीरमा वस्तु भने नटाँसिने बताए।
‘यसलाई भ्याक्सिनसँग जोड्न हुन्न। हामीसँग काम गरेकाहरुले यस्तो दाबी पछाडीको सत्या सार्वजनिक गरिसकेको छ’ उनले भने।
उनले कोरोना भाइरस पराजित गर्न भ्याक्सिन नै महत्वपूर्ण हतियार भएको भन्दै सोनरले गरेको दाबीका साथै जस्तै अन्य दाबीहरुबाट बच्नु पर्ने बताए।
सोनरको दाबीलाई जेजे मेडिकल कलेजका डिन डा तात्यारावे लहानेले पनि अस्वीकार गरे।
‘विश्वभर एक अरब भन्दा बढीलाई भ्याक्सिन दिइसकिएको छ। कोभिड भ्याक्सिन र शरीरमा वस्तुहरु टाँसिनुसँग कुनै सम्बन्ध छैन यसलाई भ्याक्सिनसँग जोडेर हेनुहुन्न’ उनले भने।
यता, सोनरले शरीरमा वस्तुहरु टाँसिने भन्दै दाबी गरेपछि त्यसबारेमा अध्ययन गर्ने तयारी भइरहेको छ। नासिकका चिकित्सक अधिकारी डा अशोक थोराटले भने, ‘यस विषयको अनुसन्धानको लागि हामी विशेषज्ञ पठाउँछौं। त्यसपछि सरकारलाई रिपोर्ट दिन्छौं। त्यसपछि सरकारले दिने निर्देशन अनुसार कारवाही हुन्छ।’
थोराटले कोभिड भ्याक्सिनले सोनरले दाबी गरेको जस्तै कुनै असर नहुने समेत बताए। तर त्यसरी शरीरमा जस्तु टाँसिने घटना भने अनुसन्धानको विषय रहेको उनी बताउँछन्।
सोनरको दाबी पछि भारतीय मेडिकल एसोसिएनका सदस्य समीर चन्द्रारातेले भ्याक्सिन र शरीरमा धातु टाँस्नुको कुनै सम्बन्ध नरहेको स्पष्ट गरे। साथै, धातु वैज्ञानिकले यसको अध्ययन गर्नुपर्ने बताए।
‘कोभिड भ्याक्सिनको यो कुरासँग कुनै लेनदेन छैन। भ्याक्सिन लिएपछि केही गाह्रो हुने, ज्वरो आउने हुन्छ। तर ती बाहेक यस्ता कुराहरुलाई भ्याक्सिनसँग जोडेर हेर्नु हुन्न। भौतिक विज्ञानी र धातु वैज्ञानिकहरुले मानिसको शरीरमा धातु कसरी टाँसिन्छ भनेर अध्ययन गर्नुपर्छु उनले भने।
सोनरको दाबी जस्ता कुराले खोप अभियान नै प्रभावित हुन सक्ने सीमरले बताए। त्यसैले यो घटनालाई भ्याक्सिनसँग जोड्न नहुनेमा उनी जोड दिन्छन्।










