गृहपृष्ठ Featured गोड्से बन्छु भन्ने वैद्यलाई पक्राउ गर्न एमालेको माग, आत्मालोचना गर्न कांग्रेसको निर्देशन

गोड्से बन्छु भन्ने वैद्यलाई पक्राउ गर्न एमालेको माग, आत्मालोचना गर्न कांग्रेसको निर्देशन

बागमती प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हत्या’ गर्ने आसयको अभिव्यक्ति दिने नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई पक्राउ गर्न एमालेले माग गरेको छ ।

एमालेको बागमती प्रदेश संगठन कमिटीले प्रदेशसभाको रोष्टमबाट गोड्से बन्छु भन्ने अभिव्यक्ति दिने सांसद वैद्यलाई पक्राउ गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलाउन माग गरेको हो ।

काठमाडौंबाट निर्वाचित नेपाली कांग्रेस सांसद वैद्यले शुक्रबार प्रदेशसभा बैठकमा आफू नाथुराम गोड्से बन्न तयार भएको अभिव्यक्ति दिएका थिए ।

एमाले प्रदेश कमिटीले प्रधानमन्त्री ओलीविरुद्ध राजनीतिक र वैचारिक रुपमा मात्र नभइ भौतिक आक्रमण हुन सक्ने सूचना आइरहेको र वैद्यको अभिव्यक्तिले त्यसको पर्दाफास भएको जनाएको छ । एमाले बागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोख्रेलद्वारा जारी विज्ञप्तिमा वैद्यलाई प्रदेशसभाबाट निलम्बन गरी तत्काल पक्राउ गरेर ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउन माग गरिएको छ । ओलीको हत्या गर्ने योजनामा संलग्न रहेका सबै दोषी पत्ता लगाउन शक्तिशाली आयोग गठन गर्नुपर्ने माग पनि एमालेले गरेको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का ल्याएको नीति तथा कार्यक्रममाथि भएको छलफलमा वैद्यले आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन् । अब नाथुराम गोड्से बन्न तयार हुनुपर्‍यो, कोही बन्न तयार छैन भने म बन्छु,’ वैद्यले शुक्रबार प्रदेशसभामा भनेका थिए । नाथुराम गोड्सेले भारतका राष्ट्रपिता मानिने माहात्मा गान्धीको हत्या गरेका थिए ।

आत्मालोचना गर्न कांग्रेसको निर्देशन

प्रदेशसभामा अमार्यदित टिप्पणी गरेको भन्दै नेपाली कांग्रेसले आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिएको छ । बागमती प्रदेशस्थित कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिएका हुन् ।

सम्बन्धित् समाचार