काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताएका छन् ।
सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष दाहालले अदालतको निर्णयमाथि प्रभाव पार्ने षड्यन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाएका हुन् । उनले सत्ताकेन्द्रित भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफूले पाएको दाबी पनि गरे ।
प्रधानमन्त्री ओली इतिहासमा नै सबैभन्दा कलंकित र बद्नाम भएको तथा राजनीतिक भविष्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गोटीहरु चाल्न सक्ने खतरा रहेको अध्यक्ष दाहालले दाबी गरे ।
प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रुपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुला षड्यन्त्र गरेको पनि अध्यक्ष दाहालले आरोप लगाए ।










