पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डमा पहिरो र सडक भासिँदा यात्रा कष्टकर बनेको छ । पहाडबाट तराई झर्ने सोझो राजमार्ग भएकाले झन्डै १२ जिल्लाका यात्रुले यही सडक प्रयोग गर्छन् । तर, यसै सडकमा यात्रा गर्दा दैनिकजसो कष्ट बेहोर्नुपर्छ ।
हरेक वर्ष असार नलाग्दैदेखि असोजसम्म कम्तीमा चार महिना राजमार्गको यात्रा कष्टपूर्ण हुने बुटवलबाट गुल्मी हिँडेका यात्रु जनकराज पन्थले बताए । ‘पहाड र तराई गर्ने यही सडक प्रयोग नगरीकन सुख छैन,’ उनले भने, ‘तर, चार महिनाको यात्रा सधैं कष्टपूर्ण हुने गरेको छ ।’ उनी अघिल्लो वर्ष सडक बन्द भएर २४ घण्टा केही नखाई सिसुवा भन्ने स्थानमा बसेका थिए । यस वर्ष पनि १५ घण्टापछि बल्ल बाटो खुलेर गन्तव्यमा जान पाएको उनले गुनासो गरे ।
अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको धेरै स्थान क्षतविक्षत बनेको छ । प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको हिउँदेखोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक एकतर्फी छ । २४ माइल, झुम्सा नजिक, भूतखोला, ड्यामसाइड (हेडबक्स) कदमभीरलगायत स्थानमा सडक भासिएको छ । गौडेपुल नजिकै पनि सडक भासिएको छ । यस वर्ष कालीमाटी क्षेत्रमा पनि पहिरो खस्ने समस्या दोहोरिएको छ ।
राजमार्गअन्तर्गतकै पीपलडाँडाको शेरा र सीता पहाडमा ठूलो पहिरो खसेर सडक बन्द हुने र खुल्ने क्रम जारी छ । माथिल्लो भागमा ग्रामीण सडक खन्ने र त्यसका डेबरेजहरू जथाभावी फाल्दा झनै ठूलो समस्या निम्तिएको सडक डिभिजनले जनाएको छ । राजमार्गको सिद्धबाबा क्षेत्रमा धेरै स्थानमा कालोपत्र छैन । यहाँ सडक भासिने र पहिरो खस्ने गर्दा आवतजावतमा समस्या बेहोर्नुपरेको तानसेन–बुटवल सडकखण्डका बस चालक सुरज थापाले बताए । असारको पहिलो साताबाटै सिद्धार्थ राजमार्ग एकतर्फी मात्रै सञ्चालन भएको छ । जसले गर्दा सडकमा धेरै जाम हुने समस्या बढेको ट्राफिक प्रहरी धर्मराज न्यौपानेले बताए । उनका अनुसार सबैभन्दा खतरा झुम्सा र पानीमिलको बीचमा भासिएको सडक भएको छ । तलबाट तिनाउ नदीले कटान गरेको छ । माथिल्लो भागबाट लेदोसहित पहाड भासिएको छ । ‘यहाँको सडकका विषयमा सडक डिभिजनले छिट्टै समाधान खोज्नुपर्छ,’ उनले भने ।







