गृहपृष्ठ खबर मोबाइलबाटै थाहा पाउनुहोस् ट्राफिकले समातेको तपाईंको लाइसेन्स/ब्लुबुक कुन कार्यालय पुग्यो ?

मोबाइलबाटै थाहा पाउनुहोस् ट्राफिकले समातेको तपाईंको लाइसेन्स/ब्लुबुक कुन कार्यालय पुग्यो ?

के तपाईं, ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्र लिन कुन ट्राफिक कार्यालय जाने भन्ने द्विविधामा हुनुहुन्छ ? अबदेखि भने यो समस्या हट्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एसएमएसबाटै जानकारी दिने सेवा सुरु गरेको छ । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेपश्चात नियन्त्रणमा लिएका कागजपत्रका बारेमा जानकारी लिन महाशाखाले डकुमेन्ट ट्र्याकिङ सिस्टम बनाएको छ ।

सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा इचलान (Echalan) स्पेस आर्थिक वर्ष स्पेस चिट नम्बर टाइप गरी ३४००१ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

‘डकुमेन्ट ट्र्याकिङ सिस्टमले मोबाइल एसएमएसमार्फत तुरुन्त पुस म्यासेज सेवाग्राहीलाई पठाउछ । सोहीअनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ,’ उनले भने  ‘कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाइन १०३ ब्यस्त हुने हुनाले समेत समस्या हुने गरेको थियो, तर आजदेखि भने एसएमएस सिस्टमले सहज हुने हाम्रो विश्वास छ ।’

उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरे तापनि १७ ट्राफिक कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यवस्था भएका कारण कतिपय टाढाबाट आउने चालकहरूलाई पर्ने गरेको असुविधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने महाशाखाको विश्वास छ ।

सम्बन्धित् समाचार