काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कंदा खुसी लागेको बताएका छन् । शनिबार राति नेपाल फर्किएपछि संक्षिप्त कुरा गर्दै अलमुताइरीले दोस्रो पटक फर्किंन पाउँदा खुसी लागेको बताएका हुन् । ‘म आज धेरै खुसी छु । किनकि म आफ्नो घर फर्किएको छु’, अलमुताइरीले विमालनस्थलमा सञ्चारकर्मीसँग भने ।
उनले साफ च्याम्पियनसिपपछि राम्रो र सकारात्मक प्रतिक्रिया पाएकाले नेपाली फुटबलको विकासका लागि निरन्तर रुपमा लाग्ने बताए । ‘अब नेपालले फुटबलमा लगानी गर्नुपर्छ । खेलाडीहरुमा लगानी गर्नुपर्छ । हामी पनि फुटबलमा केही गर्न सक्छौं’ उनले भने, ‘अहिले धेरै नसोचौं । हामी विश्वकपमा छनोट हुनुपर्छ भनेर भन्दिनँ । अबको लक्ष्य अर्को साफ च्याम्पियनसिप हो । यस पटक हामी फाइनलमा पुग्यौं । अब उपाधि जित्ने मात्र होइन, एसियामै छनोट खेल खेल्नेछौं ।’
उनले सन् २०२७ मा नेपालले एसिया कपमा प्रतिस्पर्धा गर्ने गरी तयारी थाल्नुपर्नेमा जोड दिए । ‘म नयाँ जोस र जाँगरका साथ आएको छु । हामी नेपालका लागि लड्छौं’, यसका लागि हाम्रा खेलाडीलाई तयार पाछौं’, अबको हाम्रो लक्ष्य साफ च्याम्पियनसिप मात्रै होइन, एसिया कप हो’, उनले भने । उनले साफ च्याम्पियनसिपपछि सबैले राम्रो समर्थन गरेकोमा सकारात्मक सोचका लागि सबैलाई धन्यवाद पनि दिए ।
कुवेतका फुटबल म्यानेजर अलमुताइरीले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँगको विशेष छलफलपछि नेपाल फर्किन राजी भएका थिए । ‘कर्माछिरिङ शेर्पासँगको भेटपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यबाद दिन चाहन्छु’, उनले गत बुधबार फेसबुकमा स्टाटस लेख्दै भनेका थिए्, ‘हामी चाँडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्दै छौं । नेपालको फुटबलको भविष्य अब राम्रो हुनेछ । तर, त्यसका लागि समय चाहिन्छ । नेपाली समर्थकको माया मलाई मात्र नभएर खेलाडीहरुलाई पनि चाहिएको छ । हामीलाई सहयोग गर्नुहोस् र हामीमा विश्वास गर्नुहोस् ।’








