सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिकाले ३ दिने शाखा प्रमुख वडा सचिव तथा सरोकारवालाहरुका लागी प्रस्तावना प्रतिवेदन लेखन तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । नगरपालिकाको कर्मचारीको मागअनुसार सो कार्यक्रम आयोजना गरिएको हो । तालिमको पहिलो दिन आईतबार प्रस्तावना प्रतिवेदन लेखनसम्बन्धी तालिम पोमनारायण पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो ।
सोमबार र मंगलबार कान्तिपुर टेलिभिजनका संवादाता अमृता अन्मोलको सहजीकरणमा उद्घोषण तालिम भएको महिला विकास निरीक्षिका सुसिला पन्तले जानकारी दिनुभयो । कार्यक्रमको समापन गर्दै बाणगंगाका नगरप्रमुख मंगलप्रसाद थारुले नगरपालिकाका कर्मचारी तथा संघसंस्थाको माग अनुसार संचालित तालिम फलदायी भएको दाबी गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता तालिमको आयोजनाले कर्मचारीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै नगर उपप्रमुख चक्रपाणी अर्यालले विभिन्न प्रशासनिक कार्यमा दक्षता दिलाउन तथा कर्मचारीको बोल्ने शैलीमा आत्मविश्वास तथा प्रभावता ल्याउन यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । तालिममा सहभागिहरुले आफुहरुको माग अनुसार नगरले तालिम आयोजना गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।
उनीहरुले तालिममा धेरै उपयोगी कुराहरु सिक्ने अवसर पाएको तथा आफ्नो दैनिक जीवनमा अत्यन्तै उपयोगी सावित हुने बताएका छन् । तालिममा विभिन्न शाखाका शाखा प्रमुख, वडा सचिव तथा सरोकारवालाहरु गरि ४२ जनाको सहभागिता रहेको थियो ।








