कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबिबिएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबिबिएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरूप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा। थापाले बताए ।
‘प्रतिष्ठानको बहुप्रतिक्षित एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार केही सञ्चारमाध्यममा आएको देखियो’, उनले भने, ‘प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । जसअनुसार भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’
यसका लागि चिकित्सा शिक्षा आयोगको यही कात्तिक २५ गतेको सूचनाअनुसार आउँदो मंसिर १९ गतेदेखि कक्षा सञ्चालन गर्न प्रतिष्ठान पूर्ण रूपमा तयार रहेको बताउँदै उनले प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने जानकारी दिए ।







