गृहपृष्ठ Featured राजीनामा दिएर हिँडेका रसुवा कांग्रेसका निर्वाचन अधिकृत पक्राउ

राजीनामा दिएर हिँडेका रसुवा कांग्रेसका निर्वाचन अधिकृत पक्राउ

काठमाडौँ : कांग्रेसको १४ औं महाधिवेशनका लागि रसुवामा निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत सुमन केसीलाई प्रशासनले नियन्त्रणमा लिएको छ । आफूले निर्वाचन गराउन नसक्ने भन्दै मंगलबारै केन्द्रीय निर्वाचन समितिमा राजीनामा बुझाएर काठमाडौं फर्कदै गरेका केसीलाई प्रहरीले बाटोबाटै पक्राउ गरी पुनः रसुवा फर्काएको हो ।

रसुवामा मंगलबार कांग्रेसको स्थानीय तहस्तरको निर्वाचन सम्पन्‍न भएको छ । शुक्रबार प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ । तर, निर्वाचन अधिकृत केसीले आफूले निर्वाचन गराउन असहज महसुस गरेको भन्दै मंगलबारै राजीनामा बुझाएका थिए । बुधबार बिहानै धुन्चेबाट हिँडेका उनी धादिङको खानीखोलाबाट पक्राउ परेका हुन् । रसुवा प्रशासनले धादिङ प्रशासनसँग समन्वय गरी केसीलाई प्रहरीले भ्यानमा राखेर धुन्चे फर्काएको छ ।

केसीका अनुसार रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले उनलाई फोन गरेर पुनः जिल्ला आउन भनेका थिए । त्यसपछि धादिङ प्रहरीसँग समन्वय गरी उनलाई प्रहरीले नियन्त्रणमा लिएर रसुवा लगेको हो ।

उता प्रमुख जिल्ला अधिकारी नवराज जैसीले भने निर्वाचनका कागजातहरू हराएको उजुरी परेपछि निर्वाचन अधिकृत केसीको उपस्थितिले सहज हुने भएकाले फर्किन आग्रह गरेको बताए ।

प्रजिअ जैसीले केसीले प्रशासनलाई जानकारी नदिई काठमाडौं फर्किएको बताए ।

सम्बन्धित् समाचार