काठमाडौं : नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बारका पदाधिकारी तथा असन्तुष्ट न्यायाधीशहरुबीच भेटवार्ता सुरु भएको छ। सर्वोच्च अदालतका पाँच जना न्यायाधीशले यसअघि बारसँगको सामूहिक भेटमा आफूलाई अलग गराएका थिए। उनीहरु सामूहिक छलफलमा नबस्ने भन्दै नियमित मुद्दा सुनुवाइमा फर्केका थिए।
न्यायाधीशहरु तेजबहादुर केसी, मनोज शर्मा, कुमार चुडाल, कुमार रेग्मी र बमकुमार श्रेष्ठले १९ न्यायाधीशहरुको छलफलबाट आफूहरुलाई अलग गराएका थिए। लामो समयसम्म मुद्दा सुनुवाइ रोक्न नसकिने भन्दै उनीहरुले विद्रोह गरेका थिए।
कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीश र बारको आन्दोलन लम्बिँदै गएको र प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडान राखिरहेको अवस्थामा बारले सबै न्यायाधीशहरुसँग छलफल गरिरहेको छ।
बारले सोमबार र मंगलबार १३ न्यायाधीशहरुसँग छलफल गरेको थियो। उनीहरुलाई भेटेर बारले आन्दोलनलाई कमजोर पार्ने वा प्रधानन्यायाधीश राणाको राजीनामा नै अन्तिम अल्टिमेटम भएको जानकारी गराएका छन्।








