कपिलवस्तु : कपिलवस्तुका स्थानीय तहले समयमै धान क्षतिको विवरण नपठाउँदा किसान राहत पाउनबाट बञ्चित भएका छन् । असोज ३१ गते परेको बेमौसमी बर्षाले किसानले भित्राउन ठिक्क पारेको धान खेतमै डुबेको थियो । कृषि ज्ञान केन्द्र कपिलवस्तुले पालिकाहरुले क्षतिको विवरण समयमै नपठाउँदा समस्या भएको जनाएको छ । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा.रवीन्द्र चौवेले पालिकाले समयमै विवरण नपठाउँदा समस्या भएको बताउनुभयो । प्रमुख चौवेका अनुसार जिल्लाका ६ पालिकाले मात्र अहिलेसम्म क्षतिको विवरण पठाएका छन् ।
जिल्लाको बाणगंगा नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिकाले क्षतिको विवरण पठाएका हुन् भने जिल्लाको महाराजगंज नगरपालिका, बुद्धभूमि नगरपालिका, कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाले अझै पनि क्षतिको विवरण पठाएका छैनन् ।
प्राप्त विवरण अनुसार सबैभन्दा बढी विजयनगर गाउँपालिकामा ४३ करोड ६६ लाख ५६ हजार १ सय १८ रुपैयाँ बराबरको धानबालीमा क्षति पुर्याएको छ । यस्तै बेमौसमी बर्षाले यशोधरा गाउँपालिकामा ६६ हजार २ सय ७० कठ्ठाको धान नोक्सान गर्दा २४ करोड २९ लाख ९० हजार बराबरको क्षति भएको छ भने कपिलवस्तु नगरपालिकामा ५० हजार ७ सय १६ कठ्ठामा लगाएको धानबालीमा २० करोड ४८ लाख ३४ हजार ६ सय ९ रुपैयाँ बराबरको क्षति भएको छ ।
यस्तै मायादेवी गाउँपालिकामा १२ हजार ८ सय ३० कठ्ठामा गरिएको धानखेतीमा वर्षाले ७ करोड ६९ लाख ८० हजार बराबरको क्षति गरेको छ भने शिवराज नगरपालिकामा ६ करोड ४३ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको नोक्सानी भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ । यता बाणगंगामा बेमौसमी बर्षाले करिब ४१ करोड रुपैयाँ बराबरको धानवालीमा क्षति भएको बाणगंगाका कृषि शाखा प्रमुख लेष बहादुर के.सी.ले जाकारी दिनुभयो । के.सी. का अनुसार बाणगंगामा नगरले अनुमान गरेको धान उत्पादनमा बर्षाले करिब ४४ प्रतिशत नोक्सानी गरेको छ ।
बुद्धभूमि नगरपालिकाका कृषि अधिकृत देवीराम बेल्वासेका अनुसार बुद्धभूमिमा करिब ३९ करोड रुपैयाँ बराबरको धानवालीमा क्षति भएको छ । नगरपालिकामा क्षतिको विवरण संकलन गर्ने कार्यसम्पन्न भईसकेको र विहिबार कृषि ज्ञान केन्द्र कपिलवस्तुमा पठाईने उहाँले बताउनुभयो ।
बेमौसमी बर्षाका कारण कपिलवस्तुमा ८ हजार हेक्टर क्षेत्रफलमा लगाईएको धानवालीमा क्षति पुर्याएको थियो ।








