कपिलवस्तु :. छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जले कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा आँखा उपचार सम्बन्धि एकदिने तालिम सम्पन्न गरेको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्प दृष्टियुक्त संघ (एन.एब.बी.पी.), नर्वेको आर्थिक सहयोगमा बुद्धभुमि नगरपालिकामा आमा समूहहरुको लागि सञ्चालित एक दिने प्राथमिक आँखा उपचार तालिम आइतबार सम्पन्न भएको आयोजकले जनाएको छ ।

बुद्धभुमी नगरपालिका प्रमुख केशब कुमार श्रेष्ठले तालिमलाई सम्बोधन गर्दै अन्धोपन न्युनिकरणको सवालमा आँखा अस्पतालसँगको सहकार्यलाई आगामी दिनहरुमा अझ घनिभुत तरिकाले अगाडि बढाउने बताए । आमा समूहका सहभागीहरुलाई आफूले सिकेको सीपलाई व्यवहारमा उतार्न उनले आग्रह गरे ।
त्यस्तै नगर उप(प्रमुख मीरा थारुले तालिम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्दै अन्धोपन न्युनिकरणमा स्थानीय निकायको सहयोग जारी रहने प्रतिबद्धता जाहेर गरिन ।
यसैबीच नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले मन्तव्यको क्रममा आँखा अस्पताल र नगरपालिका बीचको सहकार्यलाई निरन्तरता दिने उल्लेख गर्दै नगरपालिकामा शुरुवात गरिएको जनाउँदै साप्ताहिक आँखा उपचार क्लिनिकमा स्थानीयहरु लाभान्वित भइरहेको र आमा समूहले यसको थप प्रचार प्रसार गरेर घर(घरमा यसको सन्देश लिएर जानु पर्नेमा पौडेलले जोड दिए ।








