गृहपृष्ठ Featured अमेरिकाद्धारा बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई बहिष्कार गर्ने घोषणा

अमेरिकाद्धारा बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई बहिष्कार गर्ने घोषणा

अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई बहिष्कार गर्ने घोषणा गरेको छ। सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको हो। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक्सको उत्सवमा योगदान नगर्ने बताइन्।

चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको छ। तर उसले अमेरिकी खेलाडीहरू भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

बीबीसीका अनुसार साकीले अमेरिकी सरकारले २०२२ का खेलहरूमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल नपठाउनुले स्पष्ट सन्देश दिन सक्ने महसुस गरेको बताएकी छन्।

अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलिम्पिक्स आयोजना गर्दैछ। चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई ‘नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्य’को संज्ञा दिँदै उक्त कार्य चिनियाँ जनताविरुद्ध अपराध ठहरिने यसअघि नै बताइसकेको छ।

सम्बन्धित् समाचार