काठमाडौं: काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ । उपत्यकामा दैनिक करीब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाईभन्दा कम अर्थात् करीब १३ करोड लिटर मात्र उत्पादन र वितरण गर्छ ।
पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकिए पनि चैत र वैशाखमा भने दैनिक ११ करोड लिटर पानी मात्र वितरण हुने गरेको लिमिटेडले जनाएको छ । वर्षायाममा भने करिब १६ करोड लिटर पानी वितरण हुने गरेको छ ।
सुक्खा मौसम लागेसँगै काठमाडौँ उपत्यकामा खानेपानीको अभाव हुन्छ । पुसपछि उपत्यकाका स्रोतको पानी कम हुँदै जान थालेपछि खानेपानीको समस्या हुने गरेको छ । धारामा पानी नआएपछि उपत्यकावासी वैकल्पिक व्यवस्था गर्न बाध्य हुन्छन् ।
लिमिटेडले उपत्यकामा दुई लाख ३७ हजार धारा जडान गरेको प्रवक्ता प्रकाशकुमार राईले बताए । चोरीका धारा पनि बेला बेलामा भेटिने गरेको उहाँको भनाइ छ ।
काठमाडौँ उपत्यकामा सुन्दरीजल, महादेवखोला, नक्खु मुहान, शेषनारायण, हिटीटोल, सातमूल, कुटुरी, देवकी वासुकी, बल्खुखोला, मूलडोल, चारघरे, विष्णुमती, पाँचमाने, छहरे, अल्ले, महादेवखोलालगायत स्थानबाट पानी सङ्कलन गरेर प्रशोधन गरी वितरण हुने गरेको छ । यी स्रोतमध्ये सबैभन्दा बढी वाग्मती नदीको पानी सुन्दरीजलमा सङ्कलन गरी वितरण हुन्छ ।








