काठमाडौँ : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै पहिले पढेर मात्रै प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमसीसीबारे राम्रो अध्ययन गरेरमात्रै बोल्न आग्रह गरे ।
‘मैले एउटा कुरा चाँहि बोल्नैपर्ने भो, एमसीसी राष्ट्रघाती भन्नुभयो, राष्ट्रघाती भन्नेले पढेको छ कि छैन रु थाहा छैन । पहिले पढ्नुपर्यो, एमसीसी । कहाँ छ राष्ट्रघाती रु मैले त राष्ट्रघाती कही पढेको छैन,’ देउवाले अघि भने, ‘यदि एमसीसी राष्ट्रघाती हो भने त म पनि चाहदिनँ ।’
उनले आफू पनि लामो समय नेपालको राष्ट्रियताको पक्षमा लडेर आएको भन्दै राष्ट्रघात हुने गरी कुनै सन्धि सम्झौता नगर्ने बताए । ‘म पनि नेपालको प्रधानमन्त्री हुँ, नेपालको राष्ट्रियताको खिलापमा जाउँला कहिल्यै रु म पनि राष्ट्रकालागि लडेको मान्छे हुँ, त्यति राष्ट्रघाती सन्धि किन गरुला रु त्यति राष्ट्रघात काम मैले किन गरौँला रु,’ देउवाले प्रश्न गरे ।
उनले एमसीसी सहमतिबाटै पास हुने विश्वास व्यक्त गरे । ‘हामीबीचमा पनि छलफल भइरहेको छ, एमसीसी नेपालको हितमा छ, सित्तैमा आएको पैसा हो, सित्तै आएको पैसा किन चाहिदैन भन्ने रु विश्व बैंक, एसियाली विकास बैंकबाट हामी ऋण लिन्छौँ, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । तर एमसीसीले सित्तैमा दिन्छु भन्छ, नेपालकै कानुन मान्छु भन्छ, तैपनि मान्दैनन्,’ देउवाले भने, ‘राम्रोसँग बुझ्नुपर्यो । यसमा राम्रोसँग छलफल गर्नुहोला । मलाई लाग्छ, हामी यसलाई सहमतिबाटै पास गराउनेछौँ ।’








