काठमाडौं : यो वर्ष धान उत्पादनमा उच्च गिरावट आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा उत्पादन भएको धानको परिमाण पाँच वर्ष यताकै सबैभन्दा कम हो ।
चालु आवमा ५१ लाख ३० हजार मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।
गत आवको तुलनामा यो वर्ष धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ । आव २०७६-७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५-७६ मा ५६ लाख १० हजार र २०७४-७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिकटन धान फलेको थियो । धान थन्क्याउने बेलामा आएको बेमौसमी वर्षाका कारण कुल उत्पादनमा ह्रास आएको मन्त्रालयको दाबी छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादन निकै घटेको छ। उक्त प्रदेशमा चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको छ । गत आवको तुलनामा ३१।४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।
यस्तैगरी लुम्बनी प्रदेशमा १८.३८, प्रदेश १ मा ०.९३, प्रदेश २ मा ५.२४, वागमती प्रदेशमा ०.३५ र कर्णालीमा ८.७६ प्रतिशतले धान उत्पादनमा कमी आएको छ ।
गत आ।व।को तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक बाँकी सबै प्रदेशमा धान उत्पादन घटेको मन्त्रालयले जनाएको छ । यो वर्ष एक मात्र गण्डकी प्रदेशमा मात्रै २.३३ प्रतिशतले धान उत्पादनमा बढेको छ ।








